‘खोप आए पनि कोरोना महामारीमुक्त भएका छैनौं’

काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिकाले भारतमा कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै नगर क्षेत्रमा सुरक्षा सावधानी अपनाउन अपिल गरेको छ ।

नगर प्रमुख रामेश्वर श्रेष्ठले नगरभित्रका सरकारी तथा निजी कार्यालय, सार्वजनिक यातायातसहित भीडभाड हुने स्थानमा सुरक्षा सतर्कता अपनाउन अपिल गर्नुभएको छ ।

छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेकाले सतर्कता अपनाउन अपिल गरिएको उहाँले बताउनुभयो । ‘पुनः भारतमा संक्रमण वृद्धि भएपछि नेपालमा सतर्कता अपनाउन जरुरी छ । कार्यालय, विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनमा धेरैभन्दा धेरै सुरक्षा सावधानी अपनाउनुपर्ने देखिन्छ । सबै नागरिकले आफ्नो कर्तव्य सम्झिएर जनस्वास्थ्य मापदण्ड पालना गर्न जरुरी छ,’ उहाँले भन्नुभयो ।

नागरिकहरुमा कोरोना खोप आएपछि महामारी सकिएकोजस्तो आचार–विचार र व्यवहार हुन थालेको उहाँको भनाइ छ । ‘खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित हुँदैन । संक्रमण हुने र अरूलाई सार्ने सम्भावना कायमै हुन्छ । नयाँ संक्रमित मात्र होइन, खोप लगाएका व्यक्तिमा पनि पुनः संक्रमण देखिएको छ,’ अपिलमा भनिएको छ ।

नगर प्रमुख श्रेष्ठले संक्रमण बढेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजर प्रयोग गर्न, भीडभाड हुने कार्य नगर्न/नगराउन अपिल गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.