ट्याक्सी दुर्घटना दुईको मृत्यु

बागलुङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो ।

ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

दुर्घटनामा सोही स्थानकी ३८ वर्षीय रतिकला विक घाइते भएको वन्तको भनाइ छ । घाइते विकलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

दुई संक्रमितको मृत्यु

मङ्गलबार बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । मङ्गलबार एक महिलाको धवलागिरि अस्पताल र एक पुरुषको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाको ढोरपाटन नगरपालिका–४ निवासी ६६ वर्षीया महिलाको धवलागिरि अस्पतालमा मृत्यु भएको हो । उहाँको मृत्युपछि पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । यस्तै बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको होम आइसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख २२ गते गण्डकी मेडिकल कलेजमा उहाँलाई कोरोना पुष्टि भएको थियो । उहाँ पोखराबाट फर्केलगत्तै होम आइसोलेशनमा रहेको बेला मृत्यु भएको घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.