पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक ११ दिनपछि सञ्चालनमा
सोमबारदेखि सबैखाले सवारीसाधनहरु गुड्ने
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले पुलको पोखरेबगरतर्फको भाग कटान गरेको थियो । कालीगण्डकी नदीको तीव्र बहावले पुलको करिब २० मिटर भाग बगाएपछि बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । पुलको कटान भएको क्षेत्रमा ग्याबिन जाली लगाई ढुङ्गामाटो भरेर सडक सञ्चालनयोग्य बनाएपछि बिहीबार साँझदेखि सवारीसाधन गुड्न थालेका छन् ।
हाल परीक्षणको रूपमा हलुका सवारीसाधनहरु मात्रै सञ्चालनमा ल्याइएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । बाढीपहिरोबाट क्षतिग्रस्त सडकको मर्मत, सतह मिलाउने तथा विभिन्न स्थानमा पहरा कटिङ र सडक सुधारको काम जारी रहेको छ । सडकको बाँकी मर्मतकार्य पूरा गरी आगामी सोमबारदेखि सबै प्रकारका सवारीसाधनलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने तयारी भैरहेको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।
सडक सञ्चालनमा आएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङमा अवरुद्ध विद्युत् र टेलिफोन सेवा पनि सुचारु भएको छ । दसैँ नजिकिएसँगै डोल्पा, तिब्बत र मुस्ताङबाट ल्याइएका भेडा–च्याङ्ग्र्रा पनि बेनी–जोमसोम सडकमार्ग हुँदै नेपाली बजारमा आउन थालेका छन् । यसैगरी मुस्ताङको जोमसोममा रोकिएका लामो तथा छोटो दूरीका सवारीसाधनहरु पनि आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् भने मुस्ताङमा उत्पादित स्याउसमेत म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै देशका विभिन्न ठाउँमा पठाउन थालिएको व्यापारीहरुले बताएका छन् ।
बाढीपहिरोका कारण पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्मको २ सय २ किलोमिटर दूरीको सडकखण्डको ५५ स्थानमा पहिरो खसेको थियो । त्यस्तै, १० भन्दा बढी स्थानमा कालीगण्डकी नदीको कटानका कारण सडकको बेस नै बगेको थियो । बाढीपहिरोबाट बेनी–जोमसोम–कोरला सडकमा करिब ९० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
नेपाल र चीन बीचका अन्य नाकाहरु बन्द रहेको अवस्थामा मुस्ताङको कोरला नाका सञ्चालनमा आए पनि बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधनहरु भन्सार क्षेत्रमा नै रोकिएका थिए । सडक अवरोधका कारण पर्यटकीय समयमा मुस्ताङ आउने पर्यटकहरु प्रभावित हुनुका साथै सोह्रश्राद्धको बेला कागबेनीमा श्राद्ध तथा पिण्डदान गर्न र मुक्तिनाथ दर्शनका लागि जाने तीर्थयात्रीहरु समेत प्रभावित भएका थिए । दसैँ–तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा मुस्ताङ, तिब्बत र डोल्पाबाट भेडा–च्याङ्ग्र्रा बजारसम्म ल्याउनसमेत सडक अवरोधले समस्या भएको थियो ।
सडक पुनः सञ्चालनमा आएसँगै अब चाडपर्वका लागि भेडा–च्याङ्ग्र्रा र मुस्ताङी स्याउको ढुवानी सहज हुने अपेक्षा गरिएको छ । उत्तर र दक्षिणमा रहेका नेपालका दुई ठूला छिमेकी मुलुक चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडक छोटो दूरीको महत्वपूर्ण मार्गको रूपमा रहेको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पर्ने यो सडकखण्डलाई गण्डकी प्रदेशको ‘लाइफलाइन’ अर्थात् भाग्यरेखाका रूपमा लिइन्छ । सडक पुनः सञ्चालनमा आएसँगै म्याग्दी र मुस्ताङमा पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ । सडक अवरुद्ध हुँदा प्रभावित बनेको पर्यटन तथा होटल व्यवसाय समेत चलायमान हुने भएकाले व्यवसायीहरु उत्साहित बनेका छन् ।






प्रतिक्रिया राख्नुहोस्