विपक्षी दलसँग सहमति प्रयास गर्न सभामुखलाई दलका नेताहरुको सुझाव

काठमाडौं– प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले प्रमुख विपक्षी दल नेकपा एमालेसँग सहमति गर्न सुझाव दिएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बोलाउनुभएको सर्वदलीय बैठकमा नेताहरुले एमालेको उपस्थितिबिना परिणाम ननिस्कने भन्दै सहमति प्रयास गर्न सुझाव दिएको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो । ‘सभामुखले प्रयास गर्दैछु, गरिरहेको छु भन्नुभएको छ,’ ठाकुरले संवाददाताहरुसित भन्नुभयो, ‘विवाद सभामुख र विपक्षी दलको हो । विपक्षी दलको उपस्थितिबिना कुनै परिणाम निस्किँदैन भनेका छौं ।’

बैठकमा एमाले अनुपस्थित रह्यो ।

जनमोर्चा सांसद दुर्गा पौडेलले पनि प्रतिपक्षी नआएकाले वास्तविक निष्कर्षमा पुग्न नसकिएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिपक्षीसँग वाद सम्वादबाट निर्णय गर्न सकिन्छ । फेरि बोलाउनु भन्ने सुझाव दिएका छौं,’

बैठकमा सभामुख सापकोटा र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले नेताहरुसँग भएको संवादबारे जानकारी गराउनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिङ्देनलगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.