‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरण भएको हो । नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले आजै सो विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनुभएको थियो । विनियोजन विधेयक पारित नहुँदा मुलुक ‘बजेट होलिडे’मा परेको थियो । प्रतिनिधिसभाले यही असोज ४ गते विनियोजन विधेयक पारित गरेको थियो ।

राष्ट्रियसभाले आजै सो विधेयक पारित गरेको थियो । राष्ट्रियसभाले विधेयक पारित गरेर सन्देशसहित प्रतिनिधिसभामा पठाएको थियो । त्यससम्बन्धी जानकारी सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले सदनलाई जानकारी गराउनुभएको थियो ।

विधेयक पारित हुन नसक्दा गत भदौ ३० गते मध्यरातदेखि सरकारले खर्च गर्न पाएको थिएन । राजस्व उठाउन पाए पनि खर्च हुन नसक्दा त्यसको प्रभाव राज्यका हरेक क्षेत्रमा परेको थियो । अर्थमन्त्री जनार्दन शर्माले विधेयक पारित नभएपछि केही दिन सरकारले खर्च गर्न नपाउने अवस्था आएको बताउनुभएको थियो । विधेयकमा लालमोहर लागेकाले सरकारलाई खर्च गर्ने बाटोसमेत खुलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.