आणविक प्रतिरोधक बललाई उच्च सतर्कतामा रहन पुटिनको निर्देशन

पश्चिमले आफ्नो देशविरुद्ध ‘अमित्रवत’ कदम चालेको आरोप लगाउँदै आइतबार रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले आफ्ना रक्षा प्रमुखहरूलाई देशका आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न आदेश दिनुभएको छ ।

यूक्रेनमाथि रूसको आक्रमणबाट अन्तर्राष्ट्रिय तनाव बढिरहेका समय पूटिनको आदेशले थप संसूचक उत्पन्न गर्ने अनुमान गरिएको छ ।

मस्कोमा आणविक हातहतियार र ब्यालेस्टिक मिसाइलहरूको विश्वकै दोस्रो धेरै भण्डार छ जुन देशको प्रतिरोध बलको मेरुदण्ड बनेको छ ।

पुटिनले भन्नुभयो, “म रक्षा मन्त्री र रूसी सशस्त्र फौजका जनरल स्टाफका प्रमुखलाई रूसी सेनाका प्रतिरोध बलहरूलाई युद्ध सेवाको विशेष मोडमा राख्न आदेश दिन्छु ।

“तपाईंले देख्नुभयो कि पश्चिमी देशहरू आर्थिक क्षेत्रमा हाम्रो देशप्रति ‘अमित्रवत’ मात्र छैनन् । मेरो मतलब रूसमाथि उनीहरूले लगाएको प्रतिबन्ध अवैध हो,” उहाँले टेलिभिजन सम्बोधनमा भन्नुभयो ।

उहाँले थप्नुभयो, “उत्तर एटलाण्टिक सन्धि संगठन (नेटो) का सदस्य मुलुकका वरिष्ठ अधिकारीहरूले पनि हाम्रो देशविरुद्ध आक्रामक बयान दिन अनुमति दिन्छन् ।”

उहाँको आग्रहलाई रक्षा मन्त्री शोइगुले ‘सकारात्मक’ भनी समर्थन जनाउनुभएको थियो ।

रुसी राष्ट्रपतिले बिहीबार यूक्रेनमाथि आक्रमण गर्न दिएको आदेशले विश्वभर भयको तरङ्ग उत्पन्न गरेको छ ।

पश्चिमी स्रोतहरूका अनुसार रूसी स्थल सेना उत्तर, पूर्व र दक्षिणबाट यूक्रेनमा घुसेका छन् । यद्यपि युक्रेनी सेनाको तीव्र प्रतिरोधको सामना उनीहरूले गरिरहेका छन् जसको तीव्रताले सम्भवतः मस्कोलाई सोच्न बाध्य पारेको छ ।

यूक्रेनका अधिकारीहरूले केही रूसी सेनाहरू निरुत्साहीे र थकित भएका र दर्जनौंले आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

रूसको सेनाले आक्रमणको एक दिनमै यूक्रेनी राजधानी कीभ पुगेको भएपनि यूक्रेनी सेनाले उनीहरूलाई पछि हटाउन लडिरहेका भन्ने यूक्रेनी दाबी रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.