मनाङमा स्थानीय निर्वाचन : महिला उम्मेदवार पाउनै मुस्किल

मनाङ- बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचनको लागि मनोनयन पनि दर्ता भइसकेको छ ।

संविधानले दिएको अधिकार र अवसर सत्तारुढ गठबन्धनका कारण महिलाहरु खोसिएको भन्दै केही स्थानमा महिलाहरु रुष्ट भइरहेको अवस्था छ । कहीँ भने महिला उम्मेदवार पाउनै मुस्किल छ । हो मनाङमा संविधानद्वारा प्रदत्त अधिकार र अवसर पूर्ति हुन सकेको छैन ।

मनाङमा महिलाका लागि नै तोकिएको सङ्ख्या पूर्ति समेत हुन सकेको छैन । मनाङमा सबैभन्दा बढी मतदाता नै महिलाको छ । तर, उम्मेदवार बन्न भने चाहने देखिएका छैनन् । मनोनयन दर्ताको समय सकिएको छ तर पनि महिलाकै लागि तोकिएको गाउँपालिका, वडाहरुमा आवश्यक सङ्ख्या पुर्‍याउनै मुस्किल भएको छ ।

हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाका पाँच वटा वडामा निर्वाचनका लागि दलित महिला सदस्यको उम्मेदवारी नै परेको छैन । दलित महिला सदस्यका लागि वडाहरुमा उम्मेदवारी मनोनयन नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नार्पाभूमि गाउँपालिकाका पाँच वडामा दलित सहित गरी महिला सदस्य १० जनाको सिट सुनिश्चित छ । तर, गाउँपालिकामा चार जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी पुष्पराज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार दलित महिलाको उम्मेदवारी नै दर्ता भएको छैन भने महिला सदस्यमा चार जनाको उम्मेदवारी परेको छ । स्थानीय तह निर्वाचनमा मनाङका ५६ महिला सदस्यको सिट सुनिश्चित छ । नार्पाभूमिमा १० जना आवश्यक भएकोमा आवश्यकता पूर्ति भएको छैन भने अन्य पालिकामा पनि महिला उम्मेदवार पाउनै मुस्किल हुँदा कुनै पनि राजनीतिक दलले उम्मेदवार तयार गर्न सकेका छैनन् ।

मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न वडामा १८ महिला सदस्यको सिट सुनिश्चित छ । यहाँ दलित महिला सदस्य सहित गरी कुल १६ महिला सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महिला सदस्यमा नौ र दलित महिला सदस्यमा सात जनाको उम्मेदवारी दर्ता भएको छ । मनाङ ङिस्याङ गाउँपालिकामा पनि सुनिश्चित सिट पूर्ण भएको छैन ।
त्यस्तै सदरमुकाम चामे गाउँपालिकामा पनि सुनिश्चित सिटमा महिलाहरुको उम्मेदवारी परेको छैन । चामेका विभिन्न वडामा गरी १८ महिलाहरुको सिट सुनिश्चित छ । तर, महिला महिला सदस्यमा सात र दलित महिला सदस्यमा सात जनाको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी नासों गाउँपालिकामा भने केही महिला सदस्यहरु बीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्तारुढ गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता भएको छ । नासोंको विभिन्न वडामा महिलाका लागि १८ सिट रहेकामा १४ महिला सदस्य र आठ दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनाङमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी लगायतका दल दर्ता भएका छन् । मनाङका केही स्थानको चुनावमा कांग्रेस र एमाले बीच नै गठबन्धन भएको जस्तो देखिएको छ । भागबण्डा लगाएर कांग्रेसले वडा अध्यक्षको उम्मेदवारी दिएको स्थानमा एमालेतर्फबाट उम्मेदवारी परेको छैन भने एमालेले उम्मेदवारी दर्ता गराएको स्थानमा कांग्रेसले उम्मेदवार तयार गरेको छैन ।

चामे गाउँपालिका–३ मा एकिकृत समाजवादी पार्टीकी महिला सदस्यमा सर्वसम्मत हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले उहाँ सर्वसम्मत भएको सार्वजनिक गर्न बाँकी रहेको छ । मनाङमा महिला नेतृत्व बृद्धिका लागि न ठूला राजनीतिक दलले ध्यान दिन सके न त साना दलले नै । सबै राजनीतिक दलले महिला सहभागितालाई प्राथमिकता दिनुपर्ने घोषणापत्र र दस्तावेजमा राखेपनि मनाङको हकमा पुरा भएको देखिएको छैन ।

महिलाको नेतृत्व कम रहेको मनाङमा पहिलो पटक एक गाउँपालिकाको अध्यक्षमा भने महिला चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ । मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट ओङमा घले गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ । लामो समयदेखि सामाजिक सेवा र पार्टीमा आवद्ध हुँदै आउनुभएकी गुरुङ गत चुनावमा पनि प्रतिस्पर्धामा उत्रिनु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.