श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । यो कदमले सङ्कटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्का लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ ।

राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक सङ्कट समाधानका लागि राजीनामा दिन आग्रह गरेको केही दिनपछि यस्तो निर्णय भएको हो ।

श्रीलङ्काको डेली मिररले जनाएअनुसार प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले संसद्मा रहेका सबै राजनीतिक दललाई सर्वदलीय मन्त्रिपरिषद् गठन गर्न आमन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

यसअघि विपक्षी दल समगी जन बालवेगयाले आफ्ना नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने पुष्टि गरेका थिए ।

श्रीलङ्का हाल विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । जसले इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ । सरकार र सांसदलाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ ।

यसैबीच श्रीलङ्कामा भएको हिंसामा सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् ।

सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक जनाको पछि मृत्यु भएको प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.