डा रुइत र ज्ञवाली अभिनन्दित

काठमाडौँ- नागरिक समूहले तिलगङ्गा आँखा अस्पतालका निर्देशक तथा वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइत र प्रेरक वक्ता सुधन ज्ञवालीलाई अभिनन्दन तथा सम्मान गरेको छ ।

समूहले यहाँ आज आयोजित ‘अबको दृष्टि, स्वाभिमानसहितको समृद्धि’ विषयक अन्तर्क्रिया तथा अभिनन्दन कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उहाँहरूलाई अभिनन्दन गर्नुभयो । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिनुभएका डा रूइतलाई सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार प्रदान गरिएको थियो । विश्वविख्यात सरल र कम लागतको मोतियाविन्दुको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’ का सुरुआतकर्ताका रूपमा परिचित डा रुइतले आफ्नै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गर्नुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठनमा कार्यरत ज्ञवालीले यसअघि लामो समय रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सञ्चार माध्यममा काम गरिसक्नुभएको छ । पछिल्लो चरणमा प्ररेक वक्ताका रुपमा चर्चित ज्ञवालीले शिखर न्यूज डटकमको युट्युब च्यानल शिखरन्यूज टिभीबाट सकारात्मक सोचसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गर्नुभएको छ ।

सोही अवसरमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले मुलुकको आर्थिक र सामाजिकलगायत सम्पूर्ण विकासका निम्ति आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा युवापुस्तालाई अवसर दिनुपर्नेमा जोड दिनसभयो ।

देशभित्र रहेका जल, जमिन, जडीबुटीलगायत स्रोत साधनको उपयोग गरी देशभित्रै रोजगारीको सिर्जना गर्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “अब आगामी निर्वाचनमा तपाईँहरूले सुशासन ल्याउन सक्ने, दीर्घकालीन भिजन भएको, पारदर्शी, भ्रष्टाचार अन्त्य गर्न सक्ने नेतृत्व चयन गर्नुपर्छ ।” डा रुइतले देशको निम्ति काम गर्नेहरूलाई प्रोत्साहन गर्दै देशको विकासका लागि युवा पुस्तालाई स्थान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेरक वक्ता ज्ञवालीले स्टोरी टेलिङ गर्नुभएको थियो । समूहका अध्यक्ष जयराम सिग्देलले समूहले भ्रष्टाचारको विरुद्धमा समेत अभियान सञ्चालन गर्दै आएको बताउनुभयो । संस्थापक अध्यक्ष निगम हुमागाईँले आगामी निर्वाचनमा प्रष्ट नीति भएको नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.