नेपालमै पहिलो खुल्ला चिडियाखानाको निर्माण शुरु

बारा- वन तथा वातावरण मन्त्री प्रदिप यादबले नेपालमै पहिलो खुल्ला चिडियाखाना बनाउने घोषणा गर्नु भएको छ ।
पर्साको बिरगन्ज महानगरपालिका ३२ रामवनमा पर्सा प्राणी उद्यान चिडियाघरको आज शिलन्यास गर्दै मन्त्री यादवले यस क्षेत्रमा चाहे जति वन क्षेत्रको जग्गा उपलब्ध हुने हुँदा नेपालमै पहिलो खुल्ला चिडियाखाना बनाउन आफु लागि परेको बताउनु भएको हो ।
पर्साको सबेला साझेदारी वन क्षेत्रको ५० हेक्टरमा निर्माण हुन लागेको चिडियाखाना मधेश प्रदेश र तराईमा पर्यटन विकासमा टेवा पुर्याउन सहयोगी हुने मन्त्री यादवले बताउनु भयो ।
बारा-पर्सा देशको राजस्व धेरै बुझाउने मध्ये परे पनि विकास भने हुन नसकेकोले यो चिडियाखानले यस क्षेत्रको विकासका लागि महत्वपुर्ण योगदान हुने उहाँको भनाइ थियो ।
राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले बहुबर्षीय कार्ययोजना बनाई बजेटको अभाव हुन नदिने गरी वन्यजन्तु अस्पतालसहित तिब्र रुपमा चिडियाखाना निर्माणमा विभाग लागेको बताउनु भयो ।
शिलन्यास कार्यक्रममा प्रकृति संरक्षण कोषका महानिर्देशक शरदचन्द्र अधिकारीले लामो समयपछि बन्न गइरहेको चिडियाखानालाई आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
प्रदेश सभासद करिना बेगम , जीतपुरसिमरा उपमहानगर पालिकाका नगरप्रमुख राजन पौडेल, साझेदारी बन समितिका अध्यक्ष लगायतले चिडियाखाना निर्माणमा हातेमालो गर्ने बताउनु भएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्