बाँके १, सिरहा १ मा एमाले विजयी

काठमाडौं- बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का सूर्य ढकाल विजयी हुनुभएको छ । उहाँ २५ हजार २६ मत प्राप्त गरी निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिनुभयो ।

लोकतान्त्रिक–वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) लाई पाँच हजार तीन सय ९४ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गहतराजले १९ हजार छ सय ३२ मत पाउनुभएको छ । सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गर्दा राष्टिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गर्नुभएको छ । तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १ नं निर्वाचन क्षेत्रमा एक लाख २१ हजार एक सय मतदाता छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छ । उक्त क्षेत्रको प्रदेशसभातर्फको मतगणना जारी छ ।

यसैबीच सिरहा १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामशङ्कर यादवले २९ हजार चार सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा रहेका जनमत पार्टीका युगलकिशोर साहले छ हजार आठ सय ४९ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा कूल एक लाख छ हजार दुई सय एक मतदाता रहेकामा ६९ हजार आठ सय २६ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.