धुलिखेल इको रिसोर्ट : नाङ्लोमा खाना, गुन्द्रीमा पलेँटी

काभ्रे- अंग्रेजी नयाँ बर्षको सुरुवाती दिनहरु पर्यटन व्यवसायीहरुका लागि उत्साहजनक देखिएका छन् ।

नयाँ वर्ष सन् २०२३ सँगै पर्यटन व्यवसायमा आएको उभारले होटल क्षेत्रमा पार्न थालेको सकारात्मक संकेतहरु नेपालको आर्थिक विकास र रोजगारीको पाटोमा कोशे ढ‌ुंगा सावित हुन सक्ने व्यवसायीहरुको विश्वास छ ।

यतिखेर खासगरी होटलहरुमा पर्यटकहरुको भरिभराउ उपस्थितिले कोरोनाले थला परेको यो व्यवसाय तङ्ग्रने अवस्थामा पुगेको छ । त्यसो त नेपालका होटलहरुमा बाह्य भन्दा पनि आन्तरिक पर्यटकको उपस्थिति अझ उत्साहजनक रहेको छ ।

राजधानी  काठमाडौंबाट नजिक तर पर्यटकहरुलाई लामो समयदेखि आकर्षित गरिरहेका धुलिखेलका होटलहरुलाई पनि यतिखेर पाहुना सत्कारमा भ्याइ नभ्याइ छ ।

आफ्नो होटलको बिशेषतालाई ग्राहकहरुले मनपराएको भन्दै होटलका संचालक र सहयोगीहरु पाहुनाहरुसँग आत्मियत साँटासाँट गरिरहेका भेटिन्छन ।

धुलिखेलमा छुट्टै पहिचान बनाएको होटल धुलिखेल इको-रिसोर्टले त नयाँ वर्षको सुरुवातदेखि नै नयाँ र फरक तरिकाले परिकारहरु पस्कन थालेको छ । यसलाई पर्यटकहरुले मन पराएरै होला यतिखेर धुलिखेल इको-रिसोर्टमा पाहुनाहरुको घुइँचो लागिरहेको छ।

वातावरणमैत्री रिसोर्टको रुपमा स्थापित यो रिसोर्टमा खाना नै नाङ्लोमा ल्याइन्छ । परिकार मात्र होइन परिकारलाई पस्कने सबै सामानहरु स्थानीय सामाग्रीहरुले बनेका छन् । अनि स्थानीय यी सबै सामानहरु धुलिखेल र आसपासका स्थानीयले नै बनाएको हुनुपर्ने व्यवस्था रिसोर्टले गरेको छ । यसले गर्दा  सामग्रीबाट मात्र नभई रोजगारीबाट पनि स्थानीयलाई सहयोग पुगेको इको रिसोर्टका मेनेजर सदिप लुइँटेल बताउनुहुन्छ ।

इको-रिसोर्टमा विभिन्न स्थानीय सामानहरुको प्रयोग भएको छ । लोप हुँदै गएका स्थानीय नाङ्लो, डालो, मान्द्रो, गुन्द्री लगायतका सामानहरुको प्रयोगले पर्यटकको मन लोभ्याएको मेनेजर लुइँटेल बताउनुहुन्छ ।

ठूलो कन्फरेन्स हल र सुन्दर बगैँचालले त इको रिसोर्टको नामलाई थप चमक दिएको यहाँका पाहुनाहरुको प्रतिकृया छ ।

खानाको परिकार सुलभ र सरल मुल्यमा पाउने र सुविधासम्पन्न बेड रुमहरु पनि वातावरणमैत्री रुपमा नै निर्माण गरिएकोले यो रिसोर्टमा आउनेहरुको संख्या बढेको लुइँटेल बताउनुहुन्छ ।

नेपाली र नेवारी खानाको स्वाद अनि स्थानीय रुपमा उत्पादित तरकारी र खाद्यान्नको प्रयोगले यसको विशेषतालाई थप उजागर गरेको छ। बास बस्न मात्र नभई खुला बगैँचा भएकोले पिकनिक खान आउने पर्यटकहरुको संख्या पनि थपिँदै गएको मनेजेर लुइँटेलको भनाइ छ ।

राजधानीबाट नजिकै र फरकपनको आभास हुने गरी  सञ्चालनमा आएका धुलिखेल इको रिसोर्ट र अन्य यस्तै होटलहरुले आगामी दिनमा थप सेवा र सुविधा बढाउँदै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्ने योजनाहरुका बारेमा पनि समुदायसँग छलफल गरिरहेको व्यवसायीहरु बताउँछन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.