सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत

काठमाडौँ- सङ्घीय संसद्मा आज सरकारको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत भएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा अहिले बजेट प्रस्तुत गरिरहनुभएको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गर्दै प्रस्तुतिका लागि स्वीकृत प्रदान गरेको थियो ।
यसअघि बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतिका लागि अर्थमन्त्रीलाई अनुमति दिनुभएको थियो । प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।
बजेट वक्तव्य सुन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख संसद् भवन नयाँबानेश्वर आउनुभएको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सका प्रमुख एवं पदाधिकारी पनि सहभागिता रहेको छ ।
नेपालको इतिहासमा प्रजातन्त्र स्थापना भएपछि पहिलो अर्थमन्त्री सुवर्णशमशेर राणाले विसं २००८ माघ २१ गते पहिलो बजेट प्रस्तुत गर्नुभएको थियो । उक्त बजेट रु पाँच करोड २५ लाख बराबरको थियो । त्यसपछिका बजेट विकास केन्द्रित भएकाले वैदेशिक सहयोग प्राप्त भई सडक, पूर्वाधारलगायत महत्वपूर्ण विकास निर्माण अघि बढेको इतिहास छ ।
नेपाली कांग्रेसको नेतृत्वमा विसं २०४८ मा प्रस्तुत बजेटले आर्थिक उदारीकरण तथा नेकपा (एमाले) नेतृत्वको विसं २०५१ प्रस्तुत बजेटले सामाजिक सुरक्षामा जोड दिएका थिए । यी बजेटलाई नेपालको बजेटको इतिहासमा उदाहरणीयरुपमा हेरिने गरिएको छ ।
संसद्बाट प्रस्तुत बजेट वक्तव्य नेपाल टेलिभिजन र रेडियो नेपालसहित विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरिरहेका छन् । प्रस्तुत बजेटमाथि मन्त्रालयगत छलफलपछि सम्बन्धित मन्त्रीले जवाफ दिएपछि अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत गरिनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.