एमालेको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । गएराति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो ।
प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन, २०८० बहुमतले पारित गरेको हो ।
सत्तारुढ दलका सदस्यहरूले बजेट पारित गर्नका लागि सहमति जनाएका थिए । बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार साहीले बजेटसम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) अनुपस्थित रहेको थियो । बजेट छलफलमा विपक्षी दलबाट राप्रपा सांसद खेमा देवी विष्ट मात्रै उपस्थित थिइन् । एमालेका सबै सांसद र स्वतन्त्र सांसद तरा जोशीले प्रदेश सभा बैठक बहिस्कार गरेका थिए ।
सत्तापक्षकै बिरोधका कारण पास गर्न सकस परेको सुदुरपश्चिमको बजेट संसोधन हुने आश्वासनपछि सत्तापक्षका सबै दलले बजेट पास गर्न ह्वीप जारी गरेका थिए ।






प्रतिक्रिया राख्नुहोस्