भीमफेदी गाउँपालिकाले सुरु गर्‍यो योगदानमा आधारित सामाजिक सुरक्षा

मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिकाले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

आज एक कार्यक्रमको आयोजना गर्दै संघीय संसदका सभामुख देवराज घिमिरेको प्रमुख उपस्थितीमा पालीकाले अनौपचारिक क्षेत्रका श्रमीकका लागि योगदानमा आधारित सुरक्षा कोष कार्यान्वयनमा ल्याएको हो ।

कोषमा पालिकाभित्रका ९८ जना अनौपचारिक क्षेत्रका श्रमिक आबद्ध भएका छन् । नागरिकको सामाजिक सुरक्षा सम्बन्धि संवैधानिक हकको संरक्षण गर्न पालिकाले योगदानकमा आधारित सुरक्षा कोष प्रारम्भ गरेको हो ।

अनौपचारिक क्षेत्रमा कामगर्ने श्रमिकहरुको बचत बानीमा विकास गर्ने, सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न,उनीहरुको आर्थिक तथा सामाजिक जोखिम न्यूनीकरण गर्न योजना कार्यान्वयनमा ल्याइएको अध्यक्ष हिदम लामाले बताउनुभयो ।

पालीकाको आर्थिक वर्ष २०८०÷८१ वार्षिक स्वीकृत कार्यक्रममा सामाजिक सुरक्षा कोष कायाृन्वयन कार्यक्रम समावेश गरेको थियो । यसका लागि पालिकाले १३ लाख बजेट विनियोजन गरेको छ ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउन नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिक ११ प्रतिशत कोषमा जम्मा हुनेछ भने पालिकाद्धारा ९ दशमलव ३७ प्रतिशत मासिक रुपमा कोषमा जम्मा गर्नेछन् ।

कोषमा आबद्ध भएपश्चात् अनौपचारिक क्षेत्रका श्रमिकहरू स्वास्थ्यबीमा, मातृत्वभत्ता, अशक्तता पेन्सन, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था पेन्सन जस्ता सुविधाहरूका लागि योग्य हुनेछन्। सामाजिक सुरक्षा कोष योजना सञ्चालन गर्न पालिका र सामाजिक सुरक्षा कोषबीच श्रावणमा सम्झौता भएको थियो ।

भीमफेदी सामाजिक सुरक्षा कोष कार्यान्वयनमा ल्याउने दोस्रो गाउँपालिका बनेको छ । यस अघि स्याङजाको फेदीखोला गाउँपालिकाले सामाजिक सुरक्षा कोषसँग सम्झौता गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.