काँग्रेसमा गठबन्धनको बहस: के भन्छन महिला नेतृहरु ?

ललितपुर- नेपाली काँग्रेसको महासमिति बैठक ललितपुरस्थित गोदावरीमा जारी छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिसक्नुभएको छ । पदिधकारीले पेश गर्नुभएको विभिन्न पाँचवटा प्रतिवेदनमाथि चारवटा समूह बनाइ अहिले पनि छलफल चलिरहेको छ ।
महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदनमा आगामी चुनावमा गठबन्धन नगर्ने विषयलाई स्पष्टताका साथ उठाउनुभएको छ । र यतिखेर महासमिति बैठकमा काँग्रेसले गठबन्धनको अवस्था र आगामी निर्वाचनमा तालमेल नगर्ने भन्ने विषय नै पेचिलो रुपमा उठेको छ । यसै सेरोफेरोमा नेपालटिभीअनलाइनकी दीलिपाश्री अधिकारीले काँग्रेस महासमिति सदस्यद्वय ईश्वरी न्यौपाने र सरिता प्रसाईंसँग संक्षिप्त कुराकानी गर्नुभएको छ । प्रस्तुत छ- उहाँहरुसँग गरिएको कुराकानीको संपादित अंश:
शुरुमा  ईश्वरी न्यैपानेसँगको कुराकानी:
महासमितिको बैठक कसरी अगाडि बढेको छ ?
महासमितिको आज चौथो तथा अन्तिम दिन हो । अत्यन्तै व्यवस्थित ढंगले बैठक चलिरहेको छ । बैठकको दोस्रो दिनमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डाक्टर प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । सोही प्रतिवेदनमाथि छलफल गर्नकालागि पाँचवटा समुह बनाई छलफल भइरहेको छ ।
म आफु कोशी र सुदुरपश्चिम प्रदेश समुहमा रही बैठककमा सहभागी भएको छु । यो समुहमा कोशी प्रदेशका सभापतिहरुले लिखित रुपमा संयुक्त धारणा दिइसक्नुभएको छ । साथै महासमिति सदस्यहरुले आफ्ना धारणा राखिरहनुभएको छ ।
महामन्त्री दुवैको राजनीतिक र सांगठनकि प्रस्तावमाथिको छलफल र आगामी दिनमा चुनावमा गठबन्धन नगर्ने विषयवारेमा कस्तो धारणा आइरहेका छन् ?
गठबन्धनको विषयमा दुई महामन्त्रीबाट दुइथरी प्रस्ताव आएका छन् । म आफैँ पनि केन्द्रीय सदस्य हुँ । महामन्त्री गगन थापाको प्रस्ताव अलिक पछिसम्म नै छलफल भयो । राजनीतिक विषयमा आउनुपर्ने प्रस्ताव कतै सांगठनिक प्रस्तावमा आएको जस्तो पनि लाग्यो मलाई । राजनीतिक प्रस्तावमा विश्वप्रकाश शर्माले ल्याउनुभएको छ । उहाँले एकथरी ल्याउनुभयो र थापाले अर्कोथरी ल्याउनुभयो र अलि अलि उहाँहरुको मत पनि बाझिएकोजस्तो देखिन्छ । यो विषयमा साथीहरुले खुलेर छलफल गर्नुभएको छ । अधिकांश साथीहरु र कोशी प्रदेशका साथीहरुले लिखित सुझाव दिनुभएको छ र के पनि भन्नुभएको छ भने यतिबेला हामी गठबन्धनको सरकारमा छौं । ८४ सालमा गर्ने भन्ने गठबन्धन अहिले गर्ने कि नगर्ने भन्ने विषय र ८२ सालमा फेरि महाधिवेशन गर्ने विधानत: प्रस्ताव पनि गरिहेका छौं, त्यसपछि फेरि नयाँ महाधिबेशन प्रतिनिधि , महासमति सदस्य तथा पार्टीको नयाँ कार्यसमिति आउला । त्यसैले त्यतिबेलाको आवश्यकता अनुसार तय हुनेछ ।  वर्तमान गठबन्धन पनि हामीले गछौँ भनेर गरेको होइन आवश्यकता अनुसार गरेका थियौँ । त्यसैले अधिकांश साथिहरुको भनाइ ०८४ को निर्वाचनका लागि हतार गरेर अहिले नै निर्णय लिनुपर्छ भन्ने चाँही छैन।
महासमिति बैठकमा भएको गठबन्धनको विषयको बहसले वर्तमान सरकारमा भएको गठबन्धनलाई केही फरक पार्छ कि पार्दैन ?
गठबन्धन गर्न हुँदैन भन्ने साथीहरुले पनि के भन्नुभएको छ भने पार्टी भित्र अहिले भइरहेको बहसले हामीले पाँच वर्षकालागि गरेको गठबन्धनवारे कुनै असर नपरोस् । हामीले भन्न खोजेको के भने आगामी निर्वाचनमा हाम्रो पार्टी एक्लै जान पर्छ भन्ने हाम्रो भनाइ हो । कतिपय साथिहरुको पीडा पनि छ कि काँग्रेसले काँग्रेसलाई नै मत दिन पाइएन , रुखमा भोट हाल्न पाइएन भन्ने । महासमिति बैठकमा साथीहरुले आफ्नो धारणा राख्नु स्वाभाविक नै हो । र उहाँहरुले यो भन्दै गर्दा पनि ८४ सालको निर्वाचनमा हामी एक्लै जान पाउनुपर्छ भन्ने कुराले अहिलेको गठबन्धनलाई कुनै फरक पर्दैन ।  अहिलेका गठबन्धन तोड्नुपर्छ भन्ने विषयमा छलफल केन्द्रीत नै छैन ।
महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले फरक मत राख्नुभएका महामन्त्रीलाई समेत विश्सावमा लिई एक भएर  बैठक सम्पन्न गर्ने तयारी गरिरहेको देखिन्छ । के सबैखाले विचारलाई समेटेर पार्टी बलियो भएको सन्देश दिन सभापतिले खोज्नुभएको हो ?
हाम्रो पार्टी तानाशाह वा निरंकुशताको पक्ष लिने पार्टी होइन । पार्टीमा खुला रुपमा बहस हुन्छ, छलफल हुन्छ । कुनै कुरा अस्वीकार गर्नु परेपनि आन्तरिक छलफल हुन्छ र छलफलका आधारमा नै अस्वीकार हुन्छ । पार्टी सभापतिले सबैको कुरा सुन्नु भयो, सम्झाउन पनि खोज्नुभयो र उहाँहरुले सम्झिनु पनि भयो । सभापति कमजोर भएर होइन , केन्द्रीय समिति बैठकमा दुई तिहाई केन्द्रीय सदस्य पार्टी सभापति कै पक्षमा हुनुहुन्छ । अधिकांश महासमिति सदस्यहरु पनि सभापति कै पक्षमा हुनुहुन्छ । तथापी, यस विषयमा पार्टी सभापतिले महामन्त्रीले प्रस्ताव ल्याउनुभएपछि पर्ण कार्य समितिबाट संसोधनसहित अनुमोदन भनिसकेपछि अन्तिमसम्म पनि विवादका रुपमा रह्यो र कार्यसमितिका हामीलाई समेत जानकारी भएन । तर प्रस्ताव ल्याउँदा सांगठनिक रुपमा ल्याउने कि राजनीतिक प्रस्तावमा ल्याउने , हामीले कुनै कार्ड त बन्द राख्छौँ होला, निर्वाचनमा खोल्नुपर्ने कार्ड अहिले बन्द राख्ने कि ? हामी बलियो हुँदै गयौँ भने त हामीलाई आवश्यक छैन नि कुनै दलसँग गठबन्धन गर्न । र त्यो विषय हामीले भनेर गर्ने विषय पनि भएन नि । सभापतिले खुल्ला रुपमा महासमिति सदस्यलाई जिम्मा दिनुभयो र महासमिति बैठकमा यस विषयमा बहस चलिरहेको छ ।
आगामी दिनमा पार्टी बलियो बनाउन र निर्वाचनमा एकल बहुमत ल्याउन काँग्रेसले के गर्नुपर्ला जस्तो लाग्छ यहाँलाई ?
संगठन गर्नुपर्‍यो । पार्टी जनातामा पुग्नु पर्‍यो । वास्तवमा पार्टी जो भुइँमा बसेर हामीलाई बचाई राख्नुभएको छ ,सिंचाई मलजल गरिरहनुभएको छ, उहाँहरुको कारण विग्रेको होइन । नेता र कतिपय नेतृत्वको कारण बिग्रेको हो । हामी केन्द्रीय सदस्यहरु पदाधिकारीहरु । हामी मञ्च पायौँ भने हामी अर्को नेतालाई गाली गर्न हामी पछि पर्दैनौँ । हामीले हाम्रा कमीकमजोरी आफ्ना कोठा भित्र समाधान गर्ने र कार्यकर्ताहरुलाई सबै ठिक छ राम्रो छ भन्ने सन्देश दिन सक्यौँ भने उहाँहरुमा विभाजनको रेखा कोरिँदैन । हामी विभाजनको रेखा पनि कोर्छौं अनि अरुलाई दोष दिन पनि खोज्छौँ र चोखो पनि बन्न खोज्छौँ , यो बानीबाट हामी पछि हट्नुपर्छ, कार्यकर्तासँगै हामी पनि गाउँगाउँ पुग्नुपर्छ ।
महासमिति सदस्य सरिता प्रसाईंसँगको कुराकानीको सम्पादित अंश:
महासमिति बैठकमा विगतमा भन्दा के फरक पाउनुभयो ?
महासमिति बैठक अहिले पनि निरन्तर चलिरहेको छ । महासमिति बैठकमा कार्यपत्र प्रस्तुत भयो , विभिन्न पाँच प्रस्तावमाथि छलफल भइरहेको छ । सबैले आफ्ना धारणा राखिरहुनुभएको छ । सामान्यतया नेताहरुको बसाइको सेटिङ भन्दा अरु खासै फरक छैन । निरन्तरता जस्तै छ । पहिले पदाधिकारीहरु भूइँमा कपडा विच्छ्याएर बस्नुहुन्थ्यो । अहिले सोफामा ।यत्ति मात्र फरक पाएँ ।
महामन्त्रीहरुले गठबन्धनवारे राख्नुभएको प्रस्ताववारे कस्तो धारणा उठेका छन् र तपाईंको धारणा चाहिँ के छ ?
हामीले त्यतिबेला गठबन्धन गरेर चुनावमा नजाँउ भनेर केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राखेका थियौँ, तर बहुमत सदस्यहरु गठबन्धन गरेर जानुपर्छ भन्ने पक्षमा  उभिनुभयो र हामी गयौँ । सर्वसहम्मत भनौ न । सबैले पास गरेर चुनावमा आइसकेपछि अब अहिले गठबन्धन सरकारमा जानुपर्ने हाम्रो बाध्यता नै छ । अहिले हामी गठबन्धनमा नजाने वित्तिकै माओवादी र एमाले मिल्ने बित्तिकै हाम्रो सभामुख छैन, उपसभामुख छैन । राष्ट्रपति , सातै प्रदेशदेखि केन्द्रमासमेत सरकारमा पार्टी नभएको अवस्था थियो । यसले गर्दा हाम्रो बाध्यता पनि थियो गठबन्धनमा जान । यो बाध्यतालाई बुझेर गठबन्धनमा गई राष्ट्रपतिदेखि सबै प्रदेशदेखि केन्द्रको सरकारमासमेत हाम्रो प्रतिनिधित्व रहेको छ । अहिले संविधानको मर्म नै गठबन्धन भएकोले हामी बाध्य भएर गठबन्धन गरेको हौं । त्यसैले अब आउने चुनावमा गठबन्धन नगरी पार्टी एक्लै चुनावमा जाने र चुनावपछि गठबन्धनमा जानुपर्ने कुरावारे बहस भइरहेको छ ।
आगामी चुनावकालागि अहिले नै दृष्टिकोण बनाएर जानुपर्छ कि पर्दैन ? 
यो राजनीतिभित्रको रणनीतिको विषय हो । रणनीति जतिबेला जे आवश्यक पर्छ सोही अनुसार तय गरिनुपर्छ । राजनीतिमा हरेक बेला हरेक रणनीति आवश्यक पर्छ । आगामी दिनमा गठबन्धन गरेर जानुपर्ने आवश्यकता पनि पर्नसक्छ । दुई वर्षपछिको कुरा अहिले नै तय गर्ने बेला भएको छैन । चुनावमा जाँदा काँग्रेस मात्रै जाउँ , चुनाव जितेर आएपछि मात्रै दलहरुवीच गठबन्धनमा जाउँ र सरकार निर्माण गरौं । यो विषयमा यति धेरै बहस गरिरहनुपर्छ भन्ने मलाई लाग्दैन ।
भनेपछि महासमितिले अब गठबन्धन नगर्ने भनेर प्रस्ताव पास गर्छ त ?
गठबन्धनको विषय यति धेरै बहस गर्नु कुनै आवश्यक छ जस्तो मलाई लाग्दैन । किनकी यो भनेको राजनीतिक रणनीतिको विषय हो । परिस्थितअनुसार जे पनि निर्णय गर्न सक्नुपर्‍यो । चुनावमा नजाने भन्ने केन्द्रीय समितिले पास गरेकै थियो , साथीहरुले पनि कुरा उठाउनुभएकै थियो । ठिकै थियो । दुई वर्ष भनेको निकै लामो समय हो । यसवारेमा बहस भइरहेको छ । साथीहरुले भनाइमा फरक फरक दृष्टिकोण छन । हामी एउटै सहमतिमा राजनीतिक प्रस्ताव पास गर्छौँ ।
महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले फरक मत राख्नुभएका महामन्त्रीलाई समेत विश्सावमा लिई एक भएर महासमिति बैठक भयो । सभापति देउवाले के सबैखाले विचारलाई समेटी पार्टी बलियो भएको सन्देश दिन सक्नुभयो भन्ने लाग्छ यहाँलाई ?
पार्टीको प्रस्ताव जाँदा सभापति वा महामन्त्रीको जाने भन्ने हुँदैन । यो भनेको सिंगो पार्टीको प्रस्ताव हो । आएका प्रस्तावहरु व्यक्तिको नभई पार्टीका हुन । त्यसैले व्यक्तिले गर्‍यो वा गरेन भन्ने होइन । महामन्त्रीको काम प्रस्ताव तयार गर्नु हो । सो प्रस्ताव पार्टीको केन्द्रीय समिति बैठकमा ल्याउनुभयो , छलफल भयो, केही सुझाव आए, त्यसलाई परिमार्जन गरी फेरि ल्याउनुभयो । र अहिले महासमितिमा पेश भयो । यो हाम्रो कांग्रेसको परम्परा र विधान बमोजिमकै व्यवस्था हो ।
आगामी दिनमा पार्टी बलियो बनाउन र निर्वाचनमा एकल बहुमत ल्याउन के गर्नुपर्ला जस्तो लाग्छ ?
पार्टी अहिलेदेखि नै संगठनमा सुदृढीकरणमा लाग्नुपर्‍यो, त्यो पनि इमान्दारिताका साथ । जो-जो जुन-जुन पदमा हुनुहुन्छ ,एकले अर्कालाई गाली गर्न मजा त आउला, तर म कुन पदमा छु र  मेरो दायित्व कसरी निर्वाह गर्ने भन्नेवारे मनन गरेर नेपाली कांग्रेसका हरेक कार्यकर्तादेखि नेताले काम गर्‍यौँ भने हामी नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन । अझै दुई वर्ष समय छ , हामीले राम्रोसँग इमान्दार भएर संगठनमा लाग्यौँ भने काँग्रेसलाई कसैले हराउन सक्दैन।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.