गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाले आज देशका विभिन्न भागमा विविध कार्यक्रम गरी मनाउँदै छन् ।

देशमा जारी माओवादी सशस्त्र द्वन्द्व अन्त्य गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका स्वर्गीय नेता कोइरालाको योगदानलाई स्मरण गर्दै कार्यक्रम हुन लागेका हुन् । सशस्त्र द्वन्द्वमा लागेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

विस २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको आस्था घटेको थियो । त्यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसाद कोइरालाले नै गर्नुभएको थियो । विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याएर पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरूप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत हुनुभएको थियो । आन्दोलन सफल भएपछि उहाँ चौथोपटक मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो । पुनःस्थापित प्रतिनिधिसभाले विसं २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा ज्ञानेन्द्र शाहलाई सीमित गरेको थियो ।

नेता कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । उहाँकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको सपना पूरा भएको थियो ।

चारपटक मुलुकको प्रधानमन्त्री बन्नुभएका नेता कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हाल्नुभएको थियो । उहाँकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट दुई सय ४० वर्षको इतिहास भएको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.