कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा

नवलपरासी- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीभित्र खुसी र सन्तुष्टि ल्याउन आवश्यक रहेकोे बताउनुभएको छ । पश्चिम नवलपरासीबाट बिहीबार सुरु गरेको दोस्रो चरणको संवाद यात्रामा उहाँले नेपाली कांग्रेस पार्टीले आफ्ना सबै कार्यकर्तामा खुसी ल्याउनुपर्छ भन्नुभएको हो ।

उहाँले नेपाली कांग्रेस पार्टीमा आठ लाख क्रियाशील सदस्य रहेका र नेपालको ठूलो पार्टी भएकाले ती सबै सदस्यमा खुसी र सङ्गठनप्रति उनीहरुमा क्रियाशीलता ल्याउनुपर्ने आवश्यकता आफूले देखेको धारणा राख्नुभयो ।

“यी सबै सदस्य खुसी भए भने देशका सबै मानिसलाई खुसी बनाउँछन् र यी सबै सदस्य आफैँमा थकित र निराश भए भने पार्टीमा त आउँदैन र देशमा पनि खुसियाली आउँदैन”, उहाँको भनाइ थियो । त्यसैले सबैभन्दा पहिला पार्टीले आफूभित्रै खुसी, सन्तुष्टि र विश्वास ल्याउन आवश्यक रहेको उहाँको तर्क थियो ।

पार्टीभित्रको लडाइँको अन्त्य गर्न सबै मिलेर जान आवश्यक रहेको पनि उहाँले बताउनुभयो । जिल्लाहरुमा जाँदा विविध खालका समस्याहरु देखिएकाले तिनको निकास पनि जिल्लाबाटै निकाल्नुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

उहाँले आउने संसदीय निर्वाचनमा नेपाली कांग्रेस कसैसँग गठबन्धन नगरी एकलै लड्ने पनि जानकारी दिनुभयो । उहाँले बिहीबार यहाँस्थित गुठ्ठी सूर्यपुरामा रहेको विपी कोइरालाको सालिकमा माल्यार्पण गरेर दोस्रो चरणको संवाद यात्राको सुरुआत गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.