भक्तपुरमा बिस्का जात्रा सुरु

भक्तपुर- प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु भएको छ । स्थानीय नेपाल भाषामा बिस्का भनिने यो जात्राको आज सद्भाव र्‍यालीसहित नगरपरिक्रमाम गरेर सुरु भएको हो । र्‍यालीलाई सम्बोधन गर्दै नगरप्रमुख सुनिल प्रजापतिले यो जात्रा भक्तपुरबासीको मात्र नभएर विश्वमा परिचित जात्रा भएकाले सभ्य र भव्यताकासाथ मनाउन आग्रह गर्नु भयो ।
भक्तपुर नगरको केन्द्रमा अवस्थित पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ निर्माण सम्पन्न भएको छ । रथ दिउँसो तीन बजे तानेर बिस्का जात्रा विशेष रुपमा सुरु हुने नगरपालिकाले जनाएको छ ।
यसैबीच जात्रालाई सभ्य भएर मनाउँन प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सबैमा आग्रह गर्नु भएको छ । सम्भावित घटनालाई आँकलन गरी प्रहरी परिचालन गरिएको, ठाउँ ठाउँमा सिसी टिभि क्यामेरा जडान गरिएकाे छ । जात्रामा मदिरा निषेध गरिएको छ।।

नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको यो बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ मनाइन्छ । जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर बिस्का जात्रा सुरु भएको हो । सौर्यमासको आधारमा चल्ने बिस्का जात्रा बिःसीत नागनागिन मर्यो० भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाउँदै आइएको हो ।
तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलोपल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा उल्लेख गरिएको छ । नेपाल संवत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख गरिएको इतिहासविदको भनाइ छ । विश्व भैरवनाथको प्रतीकका रूपमा लिंगोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली भएको इतिहासविद बताउँछन् ।
‘बि’को अर्थ सर्प र ‘स्यात’को अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केट आदिको नामले जात्रा मनाइएने गरेको तर्क उनीहरुको छ । प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथ मन्दिरबाट ल्याइएको भैरवनाथको मूलदेवता र बेतालको मूलदेवतालाई तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी पाँचतले मन्दिर प्रांगणबाट जात्रा सुरु गरिएको छ ।
स्थानीय टौमढी क्षेत्रमा बनाइको तीनतले भैरवनाथको रथ स्थानीयले रथको अगाडि पछाडि राखिएको डोरी तानातान गरेर क्वने (तल्लो) क्षेत्र र ठने (माथिलो) क्षेत्र तानेर जात्रा मनाउने चलन परमपरादेखि चलिआएको छ ।यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोलमा जहाँ लैजान सकिन्छ, त्यो टोल विजयी भएको मानिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो । सो रथलाई स्थानीय गःहिटी टोलमा पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन हुने परम्परा छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.