नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

काठमाडौँ- ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा आज नेपालले कतारलाई २११ को लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपाले ७ विकेट क्षतिमा २१० रन बनाएको हो ।दीपेन्द्र सिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले कतारलाई जितका लागि विशाल रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरेका छन् । उनले एकै ओभरमा छ छक्का प्रहार गर्दै यसअघि भारतका युवराज सिंहका नाममा रहेको कीर्तिमानको बराबरी गरेका छन् । पारीको अन्तिम ओभरमा बलिङ गर्न कतारका कमरान खान आएका थिए । उक्त ओभरको छ बलमा ऐरीले छ छक्का प्रहार गरेका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २१० रन बनायो । नेपालका लागि ऐरीले सर्वाधिक ६४ रन बनाए । कूल २१ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरे । नेपालका लागि ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले । उनले ४१ बलमा छ चौकाको सहयोगमा ५२ रन बनाए ।

कुशल मल्लले १८ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन बनाए । साथै कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गलसन झा र विवेक यादवले पाँच÷पाँच रनको योगदान दिए । कतारका लागि हिमांशु राठोर र मुसावर शाहले तीन÷तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिए ।

आज नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अभिनाश बोहोरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल मल्ल छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.