मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त

काठमाडौँ- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाउनु भएको छ।

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले मत दिएका हुन् ।

मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गर्नु भएको थियो ।

४० सदस्यीय प्रदेशसभामा कांग्रेसका तीन जना सांसद अनुपस्थित भएका थिए । एक जना निलम्बनमा परेका र दुई जना अनुपस्थित थिए।

सभामुखसहित ३८ मध्ये मतदानमा ३५ जना सदस्य सहभागी भएका थिए ।

सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १२ र एक सांसद तटस्थ बसे । एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले मत दिएका हुन् ।

कांग्रेसका १५ जना सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने सांसद राजीव विक्रम शाह र जानकी सिंह संसद्‌मा उपस्थित भएनन् ।

कांग्रेसका १३ जना सांसदले विपक्षमा मतदान गरे भने भने राप्रपाकी सांसद सन्तोषी शाहीले पार्टीको नीति अनुरुप मतदानमा सहभागी नहुने बताउँदै मतदानमा सहभागी हुन‍ु भएन ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा परेसँगै प्रदेश सभा सदस्यहरूको सङ्ख्या सभामुखसहित ३९ रहेको छ । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि कम्तीमा २१ सिट आवश्यक पर्छ ।

विश्वासको मत पाएपछि मुख्यमन्त्री कँडेलले प्रतिप्रश्न नउठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर्णालीलाई विकास र समृद्धिको बाटोमा लैजाने बताउनु भयो ।

कँडेल चैत्र २७ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.