लगानी प्रवर्द्धनको वातावरण सृजना गरिनेछ : अध्यक्ष ओली

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानुनी सहजीकरण तथा सबै प्रकारका उचित वातावरण सृजना गर्न आफ्नो पार्टी दृढ रहेको बताउनुभएको छ ।
तेस्रो लगानी सम्मेलनको समापनसत्रलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टी स्वदेशी र विदेशी निजी क्षेत्रका लगानी प्रवर्द्धनका लागि संशोधित कानुनको प्रभावकारी कार्यान्वयन तथा उचित वातावरण सृजनाका पक्षमा दृढ रहेको स्पष्ट पार्नुभयो ।
उहाँले लगानी सम्मेलन नेपालका राजनीतिक दल र विकास साझेदारबीचको सहकार्य बढाउने एक उपयुक्त माध्यम भएको बताउनुभयो ।
सन् २०१९ मा आफू सरकारको नेतृत्वमा हुँदा भएको दोस्रो लगानी सम्मेलनको स्मरण गर्दै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाबमोजिम स्वदेशी र विदेशी निजी क्षेत्रको लगानीलाई अभिवृद्धि गर्ने ध्येय राखिएको जानकारी गराउनुभयो ।
“त्यसबेला पनि आफूले विभिन्न कानुनमा संशोधन गरेको र श्रम विवादका विषय समाधान गरेका थियौँ, यो सम्मेलनबाट आएका सुझावलाई कार्यान्वयन गराउन हामी पनि भूमिका निर्वाह गर्नेछौँ,” अध्यक्ष ओलीले भन्नुभयो, “यो सरकार परिणाममूलक काम गर्ने स्पष्ट खाकासहित अगाडि बढेको छ । यसले सन् २०३० सम्ममा नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने लक्ष्य लिएको छ । त्यसैले निर्धक्क भएर नेपालको समृद्धिको यात्रामा सघाउन र लगानी गर्न आग्रह गर्दछु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.