वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेलमा नेपाल विजयी

काठमाडौँ- टी–ट्वेन्टी शृङ्खला अन्तर्गत आज भएको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले परजित गरेको छ । जितका लागि १७३ रनको लक्ष्य पाएको नेपालले ४ विकेटको क्षतिमा ६ बल बाँकी रहँदै पुरा गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७२ रन बनायो । वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथानाजेले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २९ बल खेल्ने क्रममा एक चौका र तीन छक्का प्रहार गरे ।
यस्तै रोस्टन चेसले ३३ रन बनाए । उनले २१ बल खेल्ने क्रममा पाँच चौका हाने । जोनसन चाल्र्सले २४, म्याथ्यु फर्डले २३, कदीम एलियनले ११ र मार्क दयालले ११ रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले तीन तीन तथा अभिनाश बोहराले एक विकेट लिए ।
एक सय ७३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥र्यो । अठारौँ ओभरमा कुशल मल्लले पाँच बलमै २२ रन हानेपछि नेपाललाई विजयी बन्न सहज भएको हो । सो ओभरमा मल्लले चार चौका र एक छक्का प्रहार गरे । उनले १८ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अविजित ३७ रन बनाए ।
त्यस्तै आसिफ शेखले ५१ रनको योगदान दिए । उनले ३५ बलमा दुई चौका र चार छक्का हाने । अनिल शाहले ४५ बलमा चार चौका र चार छक्कासहित ५८ रन बनाए । कुशल भुर्तेलले १३ र दीपेन्द्रसिंह ऐरीले ५ रन बनाए ।
बलिङतर्फ वेष्ट इन्डिज ‘ए’का ओबेद म्याककोयले तीन तथा म्याथ्यु फर्डले एक विकेट लिए ।

पाँच खेलको शृङ्खलामा तीन खेल वेष्ट इन्डिज ए ले जितेको छ । नेपालले दुई खेल जित्यो । टि-२० विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले त्यसको तयारी स्वरुप घरेलु मैदानमा शृङ्खला खेलेको हो ।

विश्वकप क्रिकेट आगामी जेठ १९ गतेबाट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुदैछ । समूह डी मा रहेको नेपालको समुहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।

जेठ २२ गते नेदरल्यान्ड्स विरुद्ध पहिलो खेल खेल्दै नेपालले विश्वकपको यात्रा शुरु गर्नेछ । विश्वकपमा खेल्नका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.