‘उत्तेजक च्यानल अल जजिरालाई बन्द गरिनेछ’– नेतान्याहु

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले उहाँको सरकारले कतार आधारित समाचार च्यानल अल जजिरालाई बन्द गर्ने निर्णय गरेको बताउनुभएको छ । अल जजिरासँग नेतान्याहु प्रशासनको लामो समयदेखि विवाद जारी छ ।

“सर्वसम्मतिले निर्णय गरिएको छः इजराइलमा उत्तेजक च्यानल अल जजिरालाई बन्द गरिनेछ”, उहाँले सामाजिक सञ्जाल एक्समा भन्नुभयो । “इजराइलमा हमास पक्षधरहरूलाई वाक स्वतन्त्रता हुने छैन”, सञ्चारमन्त्री स्लोमो कारहीले नेतान्याहुसँगको छुट्टै संयुक्त विज्ञप्तिमा भन्नुभयो, “अल जजिरालाई तुरुन्त बन्द गरिने छ र उपकरणहरू जफत गरिनेछ ।”

कारहीले ‘उक्त च्यानलको सामग्री वितरित गर्नका लागि प्रयोग गरिने’ उपकरणहरू जफत गर्न आदेश जारी गर्नुभयो । यसमा सम्पादन र राउटिङ उपकरण, क्यामेरा, माइक्रोफोन, सर्भर र ल्यापटपका साथ वायरलेस ट्रान्समिसन उपकरण र केही सेलफोन समावेश थिए ।

इजराइल र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा अल जजिराको कार्यालय प्रमुख वालिद अल-ओमारीले उक्त निर्णयमाथि प्रतिक्रिया व्यक्त गर्दै भन्नुभयो, “यो इजराइलको चरम दक्षिणपन्थी मन्त्रीहरूको सहज जितको खोजीमा एउटा अभियान थियो ।”

उहाँले ब्रोडकास्टरलाई ‘इजराइलका सीमाभित्र सञ्चालित अल जजिरा च्यानलका कार्यालयहरू बन्द गर्ने’ र उसका प्रसारण उपकरणहरू जफत गर्ने सूचना दिइएको बताउनुभयो ।

उहाँले अल जजिराको वेबसाइटहरूमा प्रसारण पनि प्रतिबन्धित हुने तर इजराइलले कब्जा गरेको वेस्ट बैंकमा कानूनीरूपमा प्रतिबन्ध लागु नहुने बताउनुभयो । गाजा पट्टीमा पनि प्रतिबन्ध लागु हुनेछैन । गाजा पट्टीबाट अल जजिराले अहिले पनि हमाससँगको इजराइलको युद्धलाई प्रत्यक्ष प्रसारण गर्दछ ।

इजराइलको संसद्ले गत महिना भारी बहुमतले नयाँ राष्ट्रिय सुरक्षा कानून पारित गरेपछि आइतबार उक्त निर्णय आएको हो । उक्त कानूनले शीर्ष मन्त्रीहरूलाई राष्ट्रिय सुरक्षाका लागि खतरा मानिने विदेशी च्यानलहरूको प्रसारणमा प्रतिबन्ध लगाउन र तिनीहरूको कार्यालय बन्द गर्न अधिकार दिएको छ ।

सोही कानून पारित भएको केही समयपछि नेतान्याहुले आफूलाई ‘अरब संसारको पहिलो स्वतन्त्र च्यानल’ बताउने अल जजिरालाई छनोट गर्नुभयो । गाजामा हमाससँग इजराइलको युद्धभन्दा पहिलादेखि नै नेतान्याहु सरकारको अल जजिरासँग विवाद जारी छ ।

‘आपराधिक’ निर्णयको अल जजिराद्वारा निन्दा

यसैबीच कतारमा आधारित सञ्जाल अल जजिराले आइतबार गाजा युद्धको कभरेजमा प्रसारणकर्तालाई सञ्चालन गर्नबाट प्रतिबन्ध लगाउने इजराइली सरकारको कदमलाई ‘आपराधिक’ भन्दै निन्दा गरेको छ ।

“हामी सूचनासम्म पुग्ने मानवअधिकारको उल्लङ्घन गर्ने इजराइलको यो आपराधिक कृत्यको निन्दा गर्दछौँ”, अल जजिराले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा भनेको छ ।

अल जजिरा लामो समयदेखि चलिरहेको झगडाको पछिल्लो चरणमा नेतान्याहु र उहाँको सरकारको महिनौँदेखि आलोचनाको केन्द्रविन्दु बनेको छ । यो गाजामा हमाससँग इजराइलको युद्धभन्दा धेरै अघि सुरु भएको थियो ।

अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएपछि अल जजिराले इजराइली अभियानको प्रभावहरूको लगातार स्थलगत रिपोर्टिङ प्रसारण गरेको छ । युद्धमा गाजामा अल जजिराको कार्यालयमा बमबारी हुँदा उसका दुई संवाददाता मारिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.