कविता : मेरो समाज

धेरै हाँसेपछि रुनुपर्छ भन्ने समाजको मान्छे म परे

केटी रुने हो, केटा मान्छे रुन हुन्न भन्ने समाजसँग हुर्किए बढेँ ।

बिरालोलाई के थाहा उसले बाटो काटे मेरो साइत विग्रिन्छ अरे

अरुको घर जाने जात भएरै छोराले भन्दा छोरीले घरको काम जान्नै पर्ने हुन्छ रे ।

धन्न म पढ्न पाएँ, म सँगै हुर्केका कयौँ छोरी, छोरी भएरै चेपोमा परे

धन्न आफ्ना विचार राख्‍न पाए, सायद आवाज निकाल्न सिकाउने रहेछ विद्याले ।

तर पनि हरेक दिन हुर्किन्थे मलाइ हुर्काउने समाजका कुरीति

देख्दै बढे, भोग्दै गरे शिक्षाले हटाउन नसकेको समाजको मनस्थिती ।

हिड्दा बोल्दा, सुत्दा, उठ्दा, बस्दा, खाँदा, हाँस्दा, नाच्दा मै सँधै सतर्क हुनुपर्छ रे

अरे यार शरीर मेरो, दिमाग र मन मेरो तर खुशी सँधै अरुको लागि हुनुपर्छ रे ।

कोही जिस्काउँछ मलाई, शारीरिक दुव्र्यवहार हुनुमानी मेरै दोष भयो अरे

आफ्नो लागि म सजिन पनि नपाउँ ? लुगा छानी लगाउन पनि नपाउँ ? बलात्कृत हुनमा पनि मेरै दोष अरे ।

छिट्टै गरौँ या चालिसमा गरौँ बिहे, दुख्छ किन टाउको छिमेकी र आफन्त भनाउँदाको

अरे हुर्काउने, बढाउने र पढाउने मेरा बा–आमा फेरी दाइजो माग्ने त्यो निच प्रथा कस्तो ।

बुहारी चाहियो रुपमा धपक्क, बोली व्यवहार राम्रो, अझ पैसा कमाउने

मेसिन बन्न त पक्कै विदाइ गरेका होइनन् होला बुबा–आमाले ।

श्रीमतीलाई सघाउने श्रीमान भए, जोइटिङ्ग्रे भन्दिने समाज हो मेरो

एक अर्काको कुरा सुन्ने जोडीलाई भनिदिन्छ यही समाजले, कुरा सुन्छ बुडीको ।

श्रीमान श्रीमातीका कुरा गर्दै गर्दा डिभोर्स बढेका छन् अचेल, दोष यसको या उसको भनेर जज गरि नहालौं

भोग्नेलाई थाहा हुन्छ को कस्तो भन्ने, अर्काको कुनै पीडाको रमिता हेर्ने बानी नबसालौं ।

हामीले बुबा आमा छाडे जस्तै भोलि सबै छोरीले जन्मेको घर छोड्नुपर्छ

लामो छ जीवन, सँगै विताउन, सहयात्री ढिलै किन नहोस असल र माया गर्ने चुन्नुपर्छ ।

फेरी त्यही चुनेको जीवन साथी, जीवनको उतार चढावमा गुमाउँदा सबैलाई गाह्रो हुने गर्छ

विधुवा हुन् या विदुर पुनर्विवाहको इच्छा भए पहिले छोराछोरीले बुझिदिनुपर्छ ।

ती सारा मर्यादित पुरुषहरु तोड्छन् जसले यस्ता रिती

ती सारा पूजनीय बुबा, दाजु जे होस् नाता, हुर्किन्नन् यस्ता खराब रिती र प्रवृत्ती ।

मनैबाट सलाम छ हजुर दोष नदिइकन आफ्नो चेतना ल्याएकोमा

छोरा त जन्मिनै रहन्छन् तर मनबाट सलाम छ ती सारा अभिभावकहरुलाई, असल छोरा हुर्काएकोमा ।

श्रीमान् मेरो रुँदा, नरोकियोस उसको आँसु, पीडा सबको बग्नुपर्छ

खासै खाना पकाउन आउँदैन बुबालाई, मेरो बुबा अब आफ्नो लागि भएपनि खाना बनाउन सिक्नैपर्छ ।

भाइ, दाइ र म सँगसँगै राती घर छिर्दा, नहोस् प्रश्नबाचक चिन्हका मैतिर आइरो

फेरी सुन्छु र हो पनि छोरालाई त के नै हुन्छ र गाह्रो हुने त आखिर छोरी मान्छेलाई हो ।

हो, फेरी यो पनि भन्नै पर्‍यो, यहाँ त छोरीलाई दिन दहाडै लुटिने डर छ

समाज सन्तुलित बनाउन त छोरी सुरक्षित हुने समाज श्रृजना हुनै पर्छ ।

सन्तुलित थ्यो कि पहिलेका दिन, खुसी हुन्थे परिवार, समाज घरको काम गरे मात्र

आर्थिक भार आधा गर्ने दौडमा, घर अफिस, बालबच्चा र करियर भन्दा जीवन नै अलपत्र ।

सन्तुलित बनाउने आडमा फेरी नारीबादको नाराले मात्र काम गर्दैन

समानतालाई व्यवहारमा ढाल्न सके अधिकारको गुनासो गर्नै पर्दैन ।

बस, घरबाट सुधार्न सुरु गरौँ समाज, बेस आफैबाट सुधार्न केही पाइला चालौं

दोष अरुकै हो भनि औँलाउने हाम्रो बानी हटाउँदै असल समाजको श्रृजना गर्न थालौँ ।।

रोशनी खड्का प्याकुरेल- हाल–मेलबर्न भिक्टोरिया, अस्ट्रेलिया  बस्‍नुहुन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.