स्वास्थ्य चौकी भवन उद्घाटन

नुवाकोट-  नुवाकोटको उत्तरी ग्रामीण भेग माथिल्लो गेर्खुमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । निर्माण सम्पन्न भएसँगै नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

विदुर नगरपालिका–११ डाँडागाउँस्थित गेर्खु स्वास्थ्य चौकी भवनको कार्यक्रमकावीच उद्घाटन गरिएको हो । विदुर नपाका मेयर राजन श्रेष्ठले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।

भवन उद्घाटन गर्दै मेयर श्रेष्ठले ग्रामीण वासीलाई प्रभावकारी रूपमा स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिकहरूलाई निर्देशन दिनुभयो । उहाँले स्वास्थ्य सेवा मानवको महत्त्वपूर्ण हिस्सा भएका कारण यसको सेवा प्रदानमा कुनै पनि कसर बाँकी नराख्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटीले नगर बासीको स्वास्थ्य सेवा प्रवर्द्धनमा विदुर नपाले विविध कार्यक्रम गरिरहेको बत्ताउनुभयो । विदुर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको दाबी गर्दै उहाँले नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार गम्भीर र जिम्मेवार रहेको बत्ताउनुभयो ।

सघन सहरी कार्यालय धादिङमार्फत कुल डेढ करोड रुपैयाँको लागतमा नवनिर्मित १३ कोठे दुई तल्ले भवनको निर्माणसँगै सर्वसाधारणलाई उपचार सेवा प्रभावकारी हुने लक्ष्य रहेको विदुर नपाले जनाएको छ । आधुनिक उपचार सेवा सुविधा र कर्मचारीका लागि आवास सुविधासहितको भवन निर्माण भएको विदुर नपा ११ का वडाध्यक्ष बाबुराम तामाङले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकी भवनको निर्माणसँगै वडाका जनताले छिटो, छरितो र सुलभ ढङ्गबाट स्वास्थ्य सेवा पाउन थालेको तामाङले बताउनुभयो । स्वास्थ्य चौकी भवन उद्घाटनसँगै महिलाहरूको लागि प्रजनन स्वास्थ्य शिविर र समुदाय स्तरमा क्षयरोग सम्बन्धी सक्रिय खोजपड्ताल कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.