भक्तपुरमा शैक्षिक संस्था आसपास सूर्तिजन्य पदार्थ र मदिरा बेचबिखन गर्न नपाइने

भक्तपुर – नगरलाई सफा, स्वच्छ, सांस्कृतिक र पारदर्शी मात्रै होइन, शिक्षा, स्वास्थ्य र नाचगानको राजधानी नगर बनाउने लक्ष्यअनुसार अधि बढेको भक्तपुर नगरपालिकाका जनप्रतिनिधिको तीन वर्ष पुरा भएको छ ।
सुविधाले सम्पन्न शैक्षिक हबका रूपमा स्थापित यस नगरले शैक्षिक संस्था आसपास सुर्तीजन्य पदार्थ र मदिरा बेचबिखन गर्ने पसल सञ्चालन गर्न नदिने अवधारणा लिएको छ ।
जनप्रतिनिधिका ३ वर्ष कार्यक्रमको सङ्घीय साँसद् प्रेम सुवालले उद्घाटन गर्नुहुँदै भक्तपुर नगरलाई अझ सफा, स्वच्छ र व्यवस्थित बनाउन पहल गर्नु पर्ने बताउनुभयो ।
उपभोक्ताको हकहितलाई ध्यानमा राखेर समय समयमा बजार अनुगमन गर्नुपर्ने भन्दै पत्रु खानेकुराले जनताको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेकोले स्वास्थ्यकर खानेकुरा सेवनमा जनतालाई प्रोत्साहित गर्नुपर्ने धारणा राख्नुभयो । विद्यालय शिक्षा राम्रो भए विश्वविद्यालय शिक्षा पनि स्वतः राम्रो हुने तर्क गर्दै उहाँले नगरपालिकालाई आत्मनिर्भर बनाउनेतर्फ जनप्रतिनिधि लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१, ०८२ मा नगरपालिकाले गरेका विशिष्ट र महत्त्वपूर्ण कार्यको चर्चा गर्नुभयो । संविधान र कानुनले दिएको अधिकारभित्र रहेर चुनाव ताका जनतामा गरेका प्रतिबद्धता अनुसार अक्षरशः प्रतिवदता पूरा गर्ने तर्फ लागेको धारणा राख्नुभयो । सोही अनुसार विभिन्न विकास निर्माण र अन्य कार्यहरूका अतिरिक्त हरेक वर्ष एउटा नगर स्तरीय महत्त्वपूर्ण योजना सम्पन्न गर्ने उद्देश्यले काम गर्दै आएको जिकिर गर्नुभयो ।
भक्तपुरका अग्रजले गरेको त्याग, परिश्रम र दुःखको परिणामस्वरूप सय वर्ष पछिको भक्तपुरको कल्पना अनुसार आजको अवस्थामा आइपुग्न सम्भव भएको दाबी गर्नु भयो । प्रमुख प्रजापतिले राजनीतिक दलका नेताहरू कल्पनाशील, देश र जनतामा समर्पित भएपछि विकास पनि छिटै सम्भव हुन्छ भन्ने उदाहरण भक्तपुर नगरपालिका बन्दै गएको बताउनुभयो ।
स्थानीय तह प्रजातन्त्रको जग भएको भन्दै स्थानीय तह अधिकार सम्पन्न भए प्रजातन्त्र बलियो हुने धारणा राख्नुभयो । देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु सही राजनीति हो भन्ने मान्यतालाई आत्मसात् गर्दै जनप्रतिनिधिहरूको क्षमताले भ्याएसम्म शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माणलगायतलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्दै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशी, सहप्राध्यापक विश्व मोहन जोशी, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवाल, ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारी, ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लेले ख्वप अस्पताल, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप कलेज अफ ल सञ्चालन भय यता ७७ वटै जिल्लाका हजारौँ विद्यार्थीले शिक्षा लिइरहेको बताउनुभयो । जनताको साथ र सहयोगविना भक्तपुरको विकास असम्भव भएको बताउँदै जनतालाई निर्वाचनताका गरेको वाचाअनुसार भक्तपुर नगरपालिकाले काम गर्दै आएको उदाहरण पस्किनुभयो ।
जनप्रतिनिधिहरूले तीन कार्यकाल धेरै उपलब्धिमूलक रहेको बताउँदै अब कृषि प्रधान नगर र उत्कृष्ट किसानहरूलाई प्रोत्साहन गर्ने कार्यक्रममा जोड दिनुपर्ने सुझाव नगर बासीले दिए । ख्वप कलेज अफ इन्जिनियरिङमा हालसम्म २ हजार ७ सय ६९ विद्यार्थी भर्ना भई हालसम्म १ हजार ५ सय ६४ विद्यार्थीले अध्ययन पूरा गरिसकेको जानकारी दिइएको थियो । कम शुल्कमा गुणस्तरीय सेवा दिने ख्वप अस्पतालको प्रतिबद्धता गरेको छ ।
नगरले खेलकुदका क्षेत्रमा पनि उदाहरणीय कार्य गर्दै आएको वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले बताउनुभयो । मापदण्ड अनुसार घर निर्माण गर्नेलाई लाखौँ अनुदान भक्तपुर नगरभित्र नगरपालिकाको मापदण्ड अनुसार घर निर्माण सम्पन्न प्रमाणपत्र लिएका वडा नं ५ का कृष्णदेवी सिबन्जारलाई रु. ३ लाख, वडा नं. ४ का लक्ष्मीप्रसाद मधिकर्मी र उत्तम प्रसाद मधिकर्मीलाई रु ३ लाख, वडा नं. ५ का मनीषा साखलाई रु. १ लाख ४ हजार ५ सय ९६, वडा नं. ९ का सुमित्रा नायभा श्रेष्ठलाई रु. २ लाख ४४ हजार २९० रुपैयाँ, वडा नं. ५ का राधेश्याम तुल्सीबाख्योलाई रु. १ लाख २१ हजार १७०, वडा नं. ९ का शिवप्रसाद श्रेष्ठलाई रु. १ लाख ५ हजार ८६, वडा नं. ३ का सुलोचना धुख्वालाई रु. ३ लाख गरी जम्मा रु. १४ लाख ७५ हजार १ सय ४४ रुपैयाँ रुपैंया बराबर काठ, इँटा र झिङटीमा अनुदान प्रदान गरिएको थियो ।
यस्तै नगरपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीलाई र ३० वर्ष सेवा गर्ने कर्मचारीहरूलाई कदर–पत्र र दीर्घ सेवा सम्मान गरिएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले जनप्रतिनिधि, कर्मचारी र जनताको एकताले नै आजको भक्तपुर निर्माण भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्