बुटवलमा दसौँ राष्ट्रिय हाप्किडो प्रतियोगिता सम्पन्न

रुपन्देही- सेमी कनट्याक्ट मार्सल आर्ट खेललाई प्रवद्र्घन र खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ दशौँ राष्ट्रिय हाप्किडो प्रतियोगिता बुटवलमा सम्पन्न भएको छ । सात प्रदेशका ५ सय खेलाडीहरूको सहभागिता रहेको सो प्रतियोगितामा २१ स्वर्णसहित लुम्बिनी प्रदेश च्याम्पियन भएको छ । प्रतियोगितामा सुदूर पश्चिम दोस्रो र कोसी प्रदेश तृतीय भएको छ ।
प्रतियोगितामा स्पाईरिङ्ग, सेल्फ–डिफेन्स, डेमोस्ट्रेशन तथा हाई फल÷लङ फल जस्ता प्रमुख इभेन्टहरू समावेश गरिएको नेपाल हाप्किडो सङ्घका केन्द्रीय अध्यक्ष काली बहादुर मगरले बत्ताउनु भयो । अध्यक्ष मगरका अनुसार खेलहरू क्याडेट, जुनियर तथा सिनियर डिभिजन अन्तर्गत पुरुष तथा महिला तर्फ विभिन्न तौल, उमेर र बेल्ट अनुसार प्रतिस्पर्धा गराइएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै राखेप उपाध्यक्ष ध्रुव आचार्यले व्यावसायिक खेलकुद आजको आवश्यकता भएको बताउनु भयो ।
व्यवसायीक खेलकुद अघि बढाउन सके मात्र खेलाडीलाई प्रोत्साहन मिल्ने भन्दै खेलेरै घरपरिवार चलाउने सक्ने वातावरण सृजना हुन जरुरी रहेको बताउनु भयो ।
राखेपका सदस्य हिमाल श्रेष्ठले खेल र खेलाडीको हित हुने गरी नीति ल्याउन चाहेको बताउनु भयो ।
नेपाल हाप्किडो सङ्घका अनुसार सात वटै प्रदेशमा सङ्घ गठन गरी खेलाडी उत्पादन गर्दै आएको छ । अरू खेलहरू सहर केन्द्रीत भइरहेको बेला हाप्किडो भने ग्रामीण क्षेत्रमा लागिरहेको सङ्घले दाबी गरेको छ । हप्किडो खेलमा सेल्फ कन्फिडेन्स र सेल्फ डिफेन्स महत्त्वपूर्ण रहने गर्दछ ।
प्रतिक्रिया राख्नुहोस्