गाउँ सभा बैठकहरूमा पटक–पटक अनुपस्थित हुने जनप्रतिनिधिसँग लिखित स्पष्टीकरण माग

गोरखा- गण्डकी गाउँपालिकाले गाउँ सभा बैठकहरूमा पटक–पटक अनुपस्थित हुने जनप्रतिनिधिसँग लिखित स्पष्टीकरण माग गरेको छ ।२०७९ सालको स्थानीय तह निर्वाचनपछि हालसम्म ९ पटक गाउँ सभा बसेकोमा उपाध्यक्ष ललिता अधिकारी, वडा नम्बर ३ का अध्यक्ष सुवास पन्त र वडा नम्बर ४ का अध्यक्ष राजु बाबु भण्डारीसँग शुक्रवार लिखित जवाफ माग गरिएको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।
गाउँ सभा बैठकमा लगातार अनुपस्थिति गम्भीर विषय भएको भन्दै कार्यपालिकाको १२९ औँ दोस्रो सिलसिलेवार बैठकले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
गाउँपालिकाद्वारा जारी पत्रमा, जनप्रतिनिधिको अनुपस्थितिका कारण जनताको आवाज नीति निर्माणसम्म नपुग्ने र पालिकाको गरिमा प्रभावित हुने उल्लेख गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १३ अनुसार, लगातार तीन पटक बैठकमा अनुपस्थित भएका सदस्यको पदसमेत रिक्त हुने व्यवस्था रहेको स्मरण गराइएको छ ।
स्पष्टीकरण असार १७ गतेभित्र भौतिक रूपमा उपस्थित भएर बुझाउन भनिएको छ । नआए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी अध्यक्ष तिमिल्सिनाले हस्ताक्षरित पत्रमार्फत दिइएको छ ।
प्रतिक्रिया राख्नुहोस्