कञ्चन पत्रकारिता पुरस्कार २०८२ राम गुरूङ र कैलाश बाबुलाई

पोखरा- कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशील) सम्मानित हुनुभएको छ ।
पोखराका व्यवसायी विमलमान गुभाजू तथा उनको परिवारद्वारा आमा स्व.नेत्रकुमारी गुभाजू तथा बाबा स्व.वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीले मङ्गलवार पत्रकार गुरुङ र श्रेष्ठलाई प्रदान गरेको हो । पुरस्कृत पत्रकारहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार दाता विमलमान गुभाजु र उहाँको परिवार, फोनिज गण्डकी अध्यक्ष खिमा कुमारी गुरुङ लगायतले दोसल्ला, सम्मान पत्र र नगद २५ हजार रुपैयाँसहित सम्मान गर्नुभयो ।
फोनिज स्थापना दिवसका अवसरमा पत्रकारितामा क्रियाशील रहेर काम गरिरहेका २ जनालाई हरेक यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । सोही अनुसार २६ औँ स्थापना दिवसका अवसरमा यो वर्ष पोखराका फोटो पत्रकार गुरुङ र गोरखाका पत्रकार श्रेष्ठ सम्मानित हुनुभएको हो।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले २६ वर्ष अगाडि स्थापना भएको संस्थाले आदिवासी जनजाति पत्रकारहरूलाई उत्प्रेरणा प्रदान गर्ने काम गरिरहेका बताउनुभयो । फोनिजमा आबद्ध पत्रकारहरूले पत्रकारिता क्षेत्रको विकास गर्दै आदिवासी जनजाति समुदायका लागि सकारात्मक परिवर्तनको सन्देश दिने समाचार सामाग्री तयार गर्नुपर्ने उहाँको सुझाव थियो ।
प्रमुख आचार्यले पुरस्कृत पत्रकारहरूलाई बधाई दिँदै पुरस्कार प्राप्त गर्नु कुनै एक दिनको कर्मको फल नभएको बताउनुभयो । निरन्तरको मेहनतले मात्र पुरस्कार र सम्मान प्राप्त गर्न सकिने उहाँको भनाई थियो । ‘पुरस्कार प्राप्त गर्नु चुनौती हो, फोनिजले यसलाई निरन्तरता प्रदान गरेको छ र पुरस्कृत व्यक्तिलाई प्रोत्साहन हो,’ उहाँले भन्नु भयो, ‘यस्ता पुरस्कारले पत्रकारिता क्षेत्रमा निरन्तरता दिन अझै हौसला मिल्छ ।’
सम्मानित पत्रकार श्रेष्ठले कार्यक्रममा आफ्नो भनाई व्यक्त गर्दै पहिले र अहिलेको पत्रकारिता पेसामा धेरै परिवर्तन आइसकेको बताउनुभयो । आफूहरुको पुरानो अनुभव हालका नयाँ पुस्तालाई कथा जस्तो लाग्न सक्ने समेत उहाँको भनाई छ । अर्का सम्मानित फोटो पत्रकार गुरुङले पुरस्कारले पत्रकारिता क्षेत्रमा निरन्तर लाग्न प्रोत्साहन मिलेको बताउनु भयो ।
गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले पत्रकारिता क्षेत्रमा रहेर पत्रकारले निष्पक्ष ढङ्गले पारदर्शितापूर्ण काम गर्नुपर्ने बताउनुभयो । प्रेस रजिस्ट्रार कार्यालयले संविधानको मर्म अनुसार केन्द्रमा गए मात्रै हुने काम गण्डकी प्रदेशबाटै हुने गरेर अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो । पत्रकारिता क्षेत्रको सृवृद्धिका लागि गण्डकी प्रदेशमा प्रेस रजिस्ट्रार कार्यालयको स्थापना भएको भण्डारीको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिना, नेपाल आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेश परिषद्का उपाध्यक्ष खीम छन्त्याल आदिवासी जनजातिको मुद्दा उठानमा फोनिजमा आबद्ध पत्रकारहरूले ख्याल राख्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा पुरस्कारदाता विमलमान गुभाजू र प्रेस रजिस्ट्रार विमला भण्डारीलाई समेत दोसल्लाले सम्मान गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्