मुलुकलाई सही दिशामा हिँडाउने जिम्मेवारी काँधमा आएको छः सांसद वाग्ले

दमौली (तनहुँ)- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं नवनिर्वाचित सांसद डा स्वर्णिम वाग्लेले मुलुकलाई सही दिशामा हिँडाउने जिम्मेवारी काँधमा आएको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन तनहुँ क्षेत्र नं १ मा निर्वाचित भएर शनिबार प्रमाणपत्र ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले मुलुकलाई सही बाटोमा हिँडाउने जिम्मेवारी जनताले पार्टीलाई दिएको उल्लेख गर्नुभयो ।
अहिलेको निर्वाचनको परिणाम सौम्य शान्तिपूर्ण क्रान्ति भएको बताउँदै सांसद वाग्लेले भन्नुभयो, “एकथोपो रगत नबगाइकन जनता जनार्दन हुन्छन् भनेर चर्चा गरेको प्रणाली गोप्य मतदानमार्फत जनताले सुन सन्देश प्रवाह गर्नुभएको छ यसको चीरकायी महत्व रहेको छ । यसको ऐतिहासिक गाम्भीर्यतालाई बुझेर मुलुकलाई सही बाटोमा अगाडि बढाउनुपर्नेछ ।”
सांसद वाग्लेले ठूलो जिम्मेवारी काँधमा आएको बताउँदै तनहुँका जनताले गर्व गर्न लायक सांसद बन्ने बताउनुभयो । आम जनताले गर्नुभएको आशा थिति बसाइदिनुहोस्, सुशासन कायम होस् भन्ने अपेक्षा पूरा गर्न आफूहरु प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । जेनजी आन्दोलनको जगमा भएको परिवर्तनको सम्बोधन गरिने बताउँदै उहाँले युवाहरूले आशा गर्न लायकको मुलुक बनाउने लक्ष्य रहेको बताउँदै त्यसलाई न्याय हुनेगरी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।



प्रतिक्रिया राख्नुहोस्