महोत्तरीका-२ बाट रास्वपाका दिपक कुमार साह निर्वाचित

काठमाडौँ-  महोत्तरी-२ को सम्पन्न मतगणना अनुसार रास्वपाका दीपककुमार साह विजयी हुनुभएको छ । उहाँले ३२ हजार ७३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो।

साहका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले १० हजार १९८ मत प्राप्त गर्नुभएको छ ।

३४ वर्षीय साह स्वास्थ्य सेवा क्षेत्रबाट राजनीतिमा आउनु भएको हो। उहाँले M.Sc in Health Policy, Planning and Financing (London School of Economics and Political Science), Master’s in Public Health (MPH), Master’s in Optometry र LLB अध्ययन गर्नुभएको छ।

आँखा स्वास्थ्य तथा अप्टोमेट्री क्षेत्रमा उहाँसँग १० वर्षभन्दा बढीको सेवा गरेको अनुभव छ।

विशेषगरी ग्रामीण तथा पहुँचबाहिरका समुदायमा निरन्तर सेवा पुर्‍याउने, स्वास्थ्य प्रणाली सुधार गर्ने र कार्यक्रम कार्यान्वयनमा नतिजामुखी ढङ्गले काम गर्ने व्यक्तिका रूपमा उहाँ चिनिनुहुन्छ।

विद्यार्थी जीवनदेखि सुरु भएको सेवा यात्रामा उहाँले ६० हजारभन्दा बढीलाई सेवा प्रदान गर्नुका साथै ३०० भन्दा बढी आँखा शिविर सञ्चालन तथा समन्वय गर्नुभएको छ, जसले उहाँको फिल्ड–एक्सिक्युसन क्षमता देखाउँछ।

पेशागत नेतृत्वका रूपमा उहाँ Nepalese Association of Optometrists (NAO) का राष्ट्रिय अध्यक्ष पनि रहनु भएको छ। उक्त भूमिकामा रहँदा पेशागत मापदण्ड, सेवा गुणस्तर तथा सरोकारवालासँग समन्वयमा उहाँले महत्वपूर्ण योगदान दिनुभएको छ।

साथै World Council of Optometry जस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपालबाट प्रतिनिधित्व गर्दै नीति–बहस र पेशागत पैरवीमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ।

उहाँले UK Health Security Agency मा नीति परामर्शदाताका रूपमा काम गर्दै तथ्य तथा डाटामा आधारित नीति निर्माण, जोखिम व्यवस्थापन र स्वास्थ्य प्रणाली सुधारमा अनुभव हासिल गर्नुभएको छ।

त्यसैगरी विश्व स्वास्थ्य संगठन (WHO) नेपाल सँग सहकार्य गर्दै सार्वजनिक स्वास्थ्य प्रणाली, समन्वय तथा नीति कार्यान्वयनमा प्रत्यक्ष अनुभव बटुल्नुभएको छ। FHI 360 (Washington D.C.) मा कार्य अनुभवले पनि कार्यक्रम डिजाइन, प्रभाव मूल्यांकन तथा परिणाममुखी सेवा–प्रवाहमा उहाँलाई दक्ष बनाएको छ।

आँखा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदानका लागि उहाँलाई VISION 2020/IAPB द्वारा ‘Eye Health Hero 2020’ सम्मान प्रदान गरिएको छ। ‘Vision Screening March Month’ अभियानका राष्ट्रिय संयोजकका रूपमा उहाँले देशव्यापी समन्वय, साझेदारी र फिल्ड कार्यान्वयनमा नेतृत्व गर्नुभएको छ।

साथै HEPA Nepal का अध्यक्षका रूपमा स्वास्थ्य पैरवी, नेटवर्किङ तथा समुदाय–केन्द्रित पहललाई संस्थागत रूपमा अघि बढाउने काममा सक्रिय हुनुहुन्छ।

उहाँले त्रिभुवन विश्वविद्यालयको चिकित्सा अध्ययन संस्थान (IOM) बाट अप्टोमेट्री तथा दृष्टि विज्ञान अध्ययन गर्नुका साथै सार्वजनिक स्वास्थ्य (MPH) मा स्नातकोत्तर गर्दै स्वास्थ्य प्रणाली व्यवस्थापन, नीति निर्माण र सेवा–प्रवाह सुधारमा विशेषज्ञता हासिल गर्नुभएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.