आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन प्राथमिकतामा: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले यस वर्ष आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धनसहितका कामलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत परराष्ट्र मन्त्रायलयका शीर्षकउपर उठेका प्रश्नको जवाफ दिँदै उहाँले आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री खनालले भन्नुभयो, “आर्थिक कूटनीतिलाई विशेष रूपमा प्रभावकारी बनाउने, नेपालको सौम्य शक्तिको उजागर गरी सार्वजनिक कूटनीतिको प्रभावकारी परिचालनबाट मुलुकको अन्तरराष्ट्रिय छवि र प्रतिष्ठा अभिवृद्धि गर्ने तथा कन्सुलर सेवा सुदृढीकरणका लागि ‘डिजिटाइजेशन’ र सफ्टवेयर अपग्रेडका विषय प्राथमिकतामा राखेका छौँ ।”
नेपाल सरकारले नेपालको संविधान, परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रही सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा प्राथमिकताका साथ काम गरिरहेको मन्त्री खनालले बताउनुभयो । “संविधानले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशिलका सिद्धान्त, अन्तरराष्ट्रिय कानुन र विश्वशान्तिको मान्यतालाई नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तका रूपमा स्थापित गरेको छ”, उहाँले भन्नुभयो, “यी सिद्धान्तहरूको आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति सञ्चालन गरिँदै आइएको छ ।”
मन्त्री खनालले हाल विभिन्न मुलुक र सहरमा ४४ वटा नेपाली नियोग, ३१ वटा राजदूतावास, तीन स्थायी नियोग र १० वटा महावाणिज्यदूतावास रहेका जानकारी दिनुभयो । हालसम्म विश्वका १८३ मुलुकहरूसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको उहाँले बताउनुभयो ।
आगामी आव २०८३/८४ का लागि परराष्ट्र मन्त्रालय र अन्तरगतका निकायका लागि कूल रु आठ अर्ब ७३ करोडको बजेट स्वीकृत भएको छ । आगामी आव परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटका सम्बन्धमा जानकारी गराउँदै पुँजीगततर्फ समग्रमा रु एक अर्ब ५५ करोड र चालुतर्फ रु सात अर्ब १८ करोड विनियोजन भएको बताउनुभयो ।
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवद्र्धनसहितका कामलाई प्राथमिकतामा राखेका जानकारी गराउँदै मन्त्री खनालले भन्नुभयो, “भ्रमण, वार्ता, स्थापित संयन्त्रको नियमित बैठकको आयोजनालगायत कार्यलाई प्राथमिकतामा राखी द्विपक्षीय सम्बन्ध सुदृढ गर्नेछौँ । क्षेत्रीय र अन्तरराष्ट्रिय सहकार्यलाई बढावा दिनेछौँ ।”
राहदानी वितरणलाई सहज, छिटोछरितो एवं अनुमानयोग्य तथा प्रविधिमैत्री बनाउने, विदेशस्थित तीन वटा नियोगको भवन निर्माण गर्ने, राहदानी विभाग, कन्सुलर सेवा विभाग र नियोगमार्फत राहदानी तथा कन्सुलरसम्बन्धी घुम्ती शिविर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
“नियोगमार्फत समस्यामा परेका श्रमिकहरूको उद्धार, कानुनी सहायता, क्षतिपूर्ति तथा घर फिर्ती कार्यक्रम, ‘लुम्बिनी फेलोसिप’ कार्यक्रम, ‘अन्तरराष्ट्रिय संवाद शृङ्खला’ कार्यक्रम आयोजना, सगरमाथा संवादको दोस्रो संस्करण आयोजना, अन्तररष्ट्रिय आरोग्य दिवस, नियोगमार्फत नेपाल प्रवर्द्धनसहितका सगरमाथा दिवस÷वेलनेश डे, पर्यटन प्रवर्द्धन, बुद्धजयन्तीसहितका सांस्कृतिक प्रवर्द्धनलगायत कार्यक्रम प्राथमिकतामा छन्”, मन्त्री खनालले भन्नुभयो ।
परराष्ट्र मन्त्रालयबाट सम्पादन हुने काम संवेदनशील हुने उल्लेख गर्दै ठूलो सङ्ख्यामा विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, हक र हितलगायत वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने एवं समस्यामा परेका नेपालीका लागि सहायता, उद्धार र मृत्यु भएको अवस्थामा शव झिकाउने विषयलाई प्राथमिकतामा राखी काम गरिरहेको उहाँले बताउनुभयो ।
“वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिएर गएका वा सन् २०२४ सेप्टेम्बर ३० सम्म विदेशमा पुगेर विदेशस्थित नेपाली नियोगबाट वैधानिकीकरण श्रम स्वीकृति लिएकाको हकमा निजको कुनै कारणले उद्धार तथा सहायता गर्नुपरेमा वा मृत्यु भई शव नेपाल झिकाउनु परेमा सम्बन्धित रोजगारदाता कम्पनीले आवश्यक कार्य गर्ने व्यवस्था छ”, परराष्ट्रमन्त्री खनालले भन्नुभयो, “कारणवश रोजगारदाता कम्पनीमार्फत शव झिकाउन सम्भव नभएमा वैदेशिक रोजगार बोर्डले बजेट निकासा दिन सक्ने व्यवस्था छ ।”
मन्त्री खनालले साइप्रसमा बन्धक बनाइएका भनिएका धादिङका उज्ज्वल कुँवरको उद्घार तथा सहायता र जापानमा मृत्यु भएका बझाङका दीपक धामीको शवका सम्बन्धमा नेपाली नियोगहरूलाई आवश्यक समन्वयका लागि निर्देशन दिइसकिएको जानकारी दिनुभयो । उहाँले कुवेतमा घरेलु कामदारका रूपमा काम गर्न गएकी शर्मिला दर्जीलाई नेपाली राजदूतावास, कुवेतको पहलमा यही असार १ गते काठमाडौँ फर्काइएको बताउनुभयो ।
कुवेतको जेलमा सयौँ नेपाली महिला रहेका भन्ने भनाइमा सत्यता नरहेको बेहोरा स्पष्ट पार्दै परराष्ट्रमन्त्री खनालले भन्नुभयो, “हाल कुवेतको जेलमा जम्मा ६३ जना नेपाली नागरिक विभिन्न अभियोगमा थुनामा रहेकामा तीमध्ये सात जना महिला छन् ।” उहाँका अनुसार नेपाली राजदूतावासले उद्धार गरेका करिब ७० जना महिलाहरू नेपाल फर्कने क्रममा छन् ।
वर्तमान सरकार गठन भएपश्चात् राष्ट्रिय हित र मुलुकको छवि प्रवर्द्धनमा केन्द्रित परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेर काम गरिरहेका उहाँको भनाइ छ । मन्त्री खनालले परराष्ट्र सम्बन्ध सञ्चालनको विषय संवेदनशील भएको बताउँदै यस विषयमा सबैको उत्तिकै दायित्व, योगदान र भूमिका रहने बताउनुभयो । मन्त्रालयले आफ्नो क्षेत्राधिकारका विषयमा सशक्त र प्रभावकारी कार्यसम्पादन गर्दै आएको र त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिने र प्राप्त उपलब्धिका विषयमा सदनलाई जानकारी गराउँदै जाने परराष्ट्रमन्त्री खनालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।





प्रतिक्रिया राख्नुहोस्