जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा

चन्द्रपुर (रौतहट)- रौतहट भएर बग्ने वाग्मती र बकैया नदीको दुवै किनारमा लगाइएको बाँध जीर्ण हुँदा सो क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् ।

दुवै नदीको बाँध जीर्ण भएपछि फुटेर पसेको बाढीले बर्सेनि गौर सदरमुकामलगायत दर्जनौँ बस्ती डुबानमा पर्दै आएका छन् भने करोडौँ मूल्य बराबरको धनजन तथा बालीनाली क्षति हुँदै आएको छ ।

केही दिनअघिको वर्षाका कारण बकैया नदीको बाँध फुटेर राजपुर नगरपालिका–४ मा बाढी पसेपछि जनजीवन प्रभावित भएको थियो । बकैया नदीको बाँध फुट्दा रौतहटका आधा दर्जनभन्दा बढी नगरपालिका प्रभावित हुने कटहरियाका स्थानीय प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

बाँध फुट्दा रौतहटका कटहरिया, देवाही गोनाही, मौलापुर, ईशनाथ, राजपुर तथा गौर नगरपालिकाका नागरिक प्रभावित हुने श्रेष्ठले बताउनुभयो । बाढी पस्दा बाँध छेउमा बसोबास गर्दै आएका नागरिक बढी प्रभावित हुने उहाँको भनाइ छ । “जबसम्म नदीको बाँध बलियो बन्दैन, तबसम्म बर्सेनि बाढीले यस भेगका नागरिकको धनजनमा क्षति पुर्याइरहन्छ”, श्रेष्ठले भन्नुभयो ।

वाग्मती नदीको बाँध कमजोर हुँदा आधा दर्जन पालिकाका नागरिक प्रभावित हुँदै आएका छन् । रौतहटका दुर्गाभगवती गाउँपालिका, गढीमाई, माधवनारायण, राजदेवी र गौर नगरपालिकाका बाँध छेउका बस्ती डुबानमा पर्ने गरेको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले जानकारी दिनुभयो ।

गत वर्ष पनि वाग्मती नदीमा आएको बाढीले करोडौँ मूल्यबराबरको धानबाली नष्ट गरेको अध्यक्ष सिंहको भनाइ छ । वाग्मती नदीको बाँध बलियो नहुँदा धेरै नागरिकले सास्ती खेप्नुपरेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालसहितको सुरक्षा अधिकारीको टोलीले बिहीबार वाग्मती र लालबकैया नदीमा जलस्तर बढ्न थालेपछि सम्भावित बाढी जोखिमलाई मध्यनजर गर्दै नदी नियन्त्रण बाँध तथा निर्माणाधीन संरचनाको स्थलगत निरीक्षण गरेको छ ।

निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी भुसालले सम्बन्धित निकायलाई क्षतिग्रस्त भागको तत्काल मर्मत तथा आवश्यक संरक्षणका काम अघि बढाउन निर्देशन दिनुभएको छ ।

अनुगमनका क्रममा राजदेवी नगरपालिका–३ स्थित वाग्मती नदीको बाँधमा वर्षा र नदी कटानका कारण सामान्य क्षति पुगेको पाइएको प्रजिअ भुसालले जानकारी दिनुभयो ।

प्रजिअ भुसाल नेतृत्वको टोलीले परोहा नगरपालिका–३ तेजापाकडस्थित लालबकैया नदीमा निर्माणाधीन स्पर (कटान नियन्त्रण संरचना)को समेत निरीक्षण गरेको छ । निरीक्षणका क्रममा निर्माणको प्रगति, बाँधको अवस्था तथा सम्भावित जोखिमबारे सम्बन्धित प्राविधिक तथा सरोकारवालासँग जानकारी लिइएको थियो ।

वर्षायाममा बाढी तथा नदी कटानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संवेदनशील क्षेत्रको नियमित अनुगमन, आवश्यक मर्मत तथा पूर्वतयारीलाई तीव्र बनाइएको प्रजिअ भुसालले बताउनुभयो । उहाँले नदी तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन तथा कुनै पनि विपद्सम्बन्धी सूचना तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभएको थियो ।

नारायण दल गणका गणपति विश्वास विष्ट, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकीसहितको टोलीले दुवै नदीका बाँधको निरीक्षण गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.