हात्तीको बनभोज : सौराहामा पर्यटक तान्ने नयाँ शैली

चितवन- चितवनको सौराहामा १५औँ विश्व हात्ती दिवस हात्तीलाई बनभोज खुवाएर मनाइएको छ।
हात्तीको संरक्षण, उचित व्यवस्थापन र मानव–हात्ती सहअस्तित्वको सन्देश दिने उद्देश्यले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको खेल्ला चौरमा विशेष बनभोज कार्यक्रम आयोजना गरेको हो।
बाघमारा, चित्रसेन, जनकौली र कुमरोज मध्यवर्ती सामुदायिक वनको सहकार्यमा आयोजित कार्यक्रममा हात्तीलाई लामबद्ध गराएर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन फ्रुट, स्याउ, फर्सीलगायतका परिकार खुवाइएको थियो। हात्तीको लस्करसहित आयोजित वनभोज एक फरक र हेर्न लायक कार्यक्रम बनेको थियो ।
सौराहाको पर्यटन इतिहास हात्ती सफारीसँग जोडिएको छ। यही हात्ती सफारीले चितवनमा पर्यटनको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको व्यवसायीहरू बताउँछन्।
हाल चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत ५८ वटा हात्ती रहेको र सौराहामा मात्रै ४५ वटा हात्ती रहेको तथ्याङ्क छ। नेपालभर सरकारी तथा निजी गरी करिब १८५ वटा हात्ती रहेको व्यवसायीहरूको भनाइ छ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले निजी हात्तीलाई निकुञ्जबाट घाँस उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरे। साथै उमेर पुगेका हात्तीको दीर्घकालीन व्यवस्थापनका लागि ‘एलिफेन्ट सेन्चुरी’ निर्माण आवश्यक रहेको उनले बताए।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले हात्तीबिनाको चितवन निकुञ्ज संरक्षण कल्पना गर्न नसकिने बताए।
अहिलेको मुख्य चुनौती हात्तीको संख्या बढाउनु मात्र नभई बासस्थानको क्षमता अनुसार दिगो संरक्षण र मानव–हात्ती सहअस्तित्व कायम गर्नु रहेको पूर्जाको भनाइ थियो ।।






प्रतिक्रिया राख्नुहोस्