सिमेन्टमा जसरी नै अन्य खनिजमा पनि नेपाललाई आत्मनिर्भर बनाउनुपर्छ : सांसद अधिकारी

काठमाडौँ- नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुँदै निर्यातको सम्भावनासम्म पुगिसकेको अवस्थामा फलाम, तामा, डोलोमाइटलगायत अन्य खनिजमा त्यही सफलता हासिल गर्न नसकेको संघीय संसद्को अर्थ समितिमा सांसद लिमा अधिकारीले बताउनुभएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । नेपालमा ६० भन्दा बढी प्रकारका खनिज पहिचान भएका छन्। खनिज स्रोत भएका १ हजारभन्दा बढी स्थानसमेत पहिचान भइसकेका छन्।
तर, यति ठूलो सम्भावना हुँदाहुँदै खानी क्षेत्रको कुल अर्थतन्त्रमा योगदान भने ०.५ प्रतिशतभन्दा माथि उठ्न सकेको छैन । अधिकारीले यसको कारण खनिज स्रोतको अभाव नभई नीतिगत जटिलता, अनुमति प्रक्रियामा हुने ढिलाइ, धेरै सरकारी निकायबाट स्वीकृति लिनुपर्ने अवस्था र आवश्यक पूर्वाधारको कमी रहेको बताउनुभएको छ।
सिमेन्ट उद्योगले भने फरक बाटो देखाएको उहाँको भनाइ छ। स्पष्ट नीतिगत वातावरणका कारण नेपाल सिमेन्टमा आयातमा निर्भर अवस्थाबाट आत्मनिर्भर उत्पादनतर्फ अघि बढ्दै अहिले निर्यातको सम्भावनासम्म पुगेको उहाँले बताउनुभएको छ ।
त्यसैले अधिकारीले ‘प्रश्न स्रोत भएन भन्ने होइन, सिमेन्टमा जे भयो त्यो अरू खनिजमा किन दोहोरिन सकेन र नयाँ खानी विधेयकले त्यो बाटो खोल्छ कि झन् साँघुरो बनाउँछ?’ भन्ने प्रश्न गर्नुभएको छ ।
अधिकारीले सिमेन्ट क्षेत्रमा जस्तै फलाम, तामा, डोलोमाइटलगायत अन्य खनिजको उत्खनन र प्रशोधनमा निजी क्षेत्रलाई आकर्षित गर्न कस्ता पूर्वाधारमा लगानीलाई प्राथमिकता दिनुपर्छ भन्नेबारे आयोगको धारणा माग्नुभएको छ। ऊर्जा क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले ‘ऊर्जामा जसरी हामीले सफलता हासिल गर्यौँ, अरू क्षेत्रमा गर्नका लागि के गर्नुपर्छ?’ भन्ने प्रश्नसमेत गर्नुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्