रोल्पाको सुनछहरीमा पहिरोः ४ जनाको मृत्यु

रोल्पा- रोल्पाको सुनछहरी गाउँपालिका–२ भित्रिगामस्थित हारबाङ र फलबाङमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ।

अविरल वर्षापछि गएराति गएको पहिरोमा परी सुनछहरी गाउँपालिका–२ भित्रिगाम हारबाङ गिठ्ठेकी ५७ वर्षीया लामी घर्तीमगर तथा सोही वडाको फलबाङका ६५ वर्षीय वीरबहादुर घर्तीमगर, ७० वर्षीया सनी घर्तीमगर र ७० वर्षीया लली घर्तीमगरको मृत्यु भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनु भएको छ ।

मृतक चार जनामध्ये तीन महिला र एक पुरुष रहेका छन्।

सनी र वीरबहादुर श्रीमान-श्रीमती हुन् भने लली वीरबहादुरको घरको पाहुना भएको प्रमुख जिल्ला अधिककारी क्षेत्रीले जानकारी दिनुभयो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय सिउरी र बाहिरीगामबाट प्रहरी टोली सहित स्थानीयले उद्धार कार्य गरिरहेको क्षेत्रीले बताउनु भएको छ। घटना स्थलमा खटिएका सुनछहरी गाउँपालिका २ गामका वडा सदस्य पशुपति बुढामगरका अनुसार हारबाङ गिठ्ठेमा मृत्यु भएकी लामी घर्तीमगर गोठमा एक्लै हुनुहुन्थ्यो।

पहिरोले गोठ पुरिँदा उहाँको मृत्यु भएको हो। गोठसँगै जोडिएको घरसमेत पहिरोले क्षति पु¥याउँदा उहाँकी बुहारीसहित तीन जना सामान्य घाइते भएको छन् ।

यसैबीच, बुधबार राति गएको पहिरोमा परी रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा १० जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन्।

पहिरोमा परी गम्भीर घाइते भएका दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ। कोटलबारामा बेपत्ता भएका तीन जनाको खोजी कार्य आज पनि भइरहेको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण रोल्पाका विभिन्न क्षेत्रमा पहिरो तथा सडक अवरोध भएपछि उद्धार, खोजी तथा राहत कार्यमा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.