गरिबीमा पनि नरोकिएको पर्वको उल्लास, घर लिपपोत र सिँगार्न व्यस्त बाराका दलित समुदाय

बारा-  दीपावली र छठ नजिकिँदै गर्दा गाउँबस्तीमा चाडपर्वको रौनक छाएको छ । कोही घर सजाउन व्यस्त छन् त कोही पूजाआजाको तयारीमा । कोही भने घर र छठ घाटको सरसफाइमा ब्यस्त छन ।
बाराका विपन्न दलित बस्तीका लागि भने चाडपर्वको खुशीसँगै अभाव र संघर्ष पनि जोडिएको छ । वर्षायाममा परेको पानीले भिजेका र जीर्ण बनेका घरहरू चाडपर्व मनाउनकै लागि उनीहरू अहिले लिपपोत र सिँगार्न व्यस्त छन ।
कसैले माटोले घरका भित्ता पोतिरहेका छन् त कसैले घरआँगन सफा गरेर दीपावली र छठको स्वागत गर्ने तयारी गरिरहेका छन ।
आर्थिक अवस्था कमजोर हुँदा नयाँ कपडा, मिठा परिकार र झिलिमिली बत्तीको व्यवस्था गर्न नसके पनि उनीहरू आफ्नो गच्छे अनुसार चाडपर्व मनाउन घर लिपपोत तयारीमा जुटेका हुन ।
 दैनिक गुजारा कसरी गर्ने भन्ने अभावमा बाचेका उनीहरु वर्षाले घरका भित्ता भिजाएको छ, कतिपय घरका छाना चुहिने अवस्थामा छन तर पनि चाडपर्वमा आफ्नो घर सफा र चिटिक्क बनाउने उनीहरूको चाहनामा कुनै कमी छैन ।
बाराको कलैया उपमहानगरपालिका १६ उत्तरझिट्कैया अलानी जग्गामा बस्दै आएका भुमिहिन दलित गितादेवी रामले कुनै सरकारबाट पनि आफूहरुले सहयोग नपाएको गुनासो गर्नुहुन्छ ।
त्यस्तै दैनिक रोजीरोटीको समस्याबाट पीडित बन्दै आएका दलित श्रीपती देवी रामले ऐलानी जमिनमा रहेको यही घर बाहेक केही नरहेको दुखेसो पोख्नुभयो । दलित चमार बस्तीका अर्की स्थानीय ऐतवारी राम चाडपर्व क्रृण लिएर मनाउने गरेको बताउनु हुन्छ ।
दीपावलीमा घर उज्यालो बनाउने र छठमा सूर्यदेवको आराधना गर्ने परम्परा उनीहरूका लागि पनि उत्तिकै प्रिय छ । अभावबीच पनि संस्कार, संस्कृति र परम्परा जोगाउने उनीहरूको प्रयास प्रशंसनीय छ ।
तर हरेक वर्ष चाडपर्व आउँदा मात्रै होइन, वर्षायाममा समेत सुरक्षित आवासको चिन्ताले सताउने यी परिवारका लागि राज्यको ध्यान कहिले पुग्ने भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।
चाडपर्व सबैका लागि खुसी र उमंगको अवसर बन्नुपर्छ। तर विपन्न परिवारका लागि चाडपर्व मनाउनु पनि एउटा संघर्ष बनेको छ । उनीहरूको घरमा पनि खुसीको उज्यालो पुग्न सके मात्रै दीपावली र छठको वास्तविक अर्थ सार्थक हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.