अस्ताउँदो सूर्यलाई अर्घ दिएर ‘सझिया अरख’ विधि सम्पन्न

नेपालगञ्ज– लोक आस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर ‘सझिया अरख’ विधि सम्पन्न गरिएको छ ।
नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पूर्वपट्टि रहेको तलाउमा भेला भएका महिलाले सामूहिक रूपमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको महत्त्वपूर्ण विधि ‘सझिया अरख’ सम्पन्न गरेका हुन् । तलाउ परिसरमा छठ पर्व मनाउन व्रतालु तथा श्रद्धालुको उपस्थिति रहेको थियो । नदी, तलाउ र कुण्डसहितका जलाशयमा निर्मित घाटमा व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका हुन् । सूर्यास्तको समय पारेर सूर्यदेव र छठीदेवीको महिमागान गर्दै मङ्गलगानका बीच पहिलो अर्र्घको विधि सम्पन्न गरिएको हो ।
कार्तिक शुक्ल षष्ठी तिथिमा भगवान् सूर्य र देवी षष्ठीको उपासना गरिने यस पर्वमा व्रतालुले पहिलो अर्घ अस्ताचलगामी (अस्ताउँदो) सूर्यलाई दिने परम्परा छ । अर्घ दिन एक घडीपूर्वदेखि जलाशयमा कम्मरसम्मको पानीमा उभिएर प्रार्थना गर्दै व्रतालुले सूर्यास्त कुरेका थिए । जटासहितको नरिवल, अविर र अरबा चामलको पिठो हातमा लिएर सूर्यदर्शन गर्दै अर्घ दिइन्छ । व्रतालुले यससँगै क्रमशः छठका लागि बनाएका ठकुवा, भुसुवासहित मिष्टान्नका डाली, केरा र अन्य फलफूल सूर्यलाई देखाउँछन् ।
कार्तिक शुक्ल चौथीका दिन सुरु भएको छठ उत्सवमा यसअघि व्रतालुले पहिलो दिन चौथी तिथिमा ‘नहाय खाय’ र दोस्रो दिन पञ्चमी तिथिमा ‘खरना’ सम्पन्न गरिसकेका छन् । खरनाका दिन मध्यरातपूर्व सख्खर, दूध र अरबा चामलको खीर खाएर व्रत प्रारम्भ गरेका व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ  दिएका हुन् ।
‘सझिया अरख’ विधि सम्पन्न गरेसँगै व्रतालुले भोलि सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएर पर्व सम्पन्न गर्नेछन् । सूर्योदयको समयमा पनि व्रतालु एक घडी पहिले पानीमा पसेर सूर्यलाई चाँडै देखिन प्रार्थना गर्छन् । बिहानको अर्घसँगै महापर्व छठ सम्पन्न हुनेछ ।
बिहानको अर्घ दिने दिनलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने चलन रहेको छ । पर्व सम्पन्न भएसँगै व्रतालु घर फर्केर आशामुखी, दीनदुःखीलाई दान दिएर प्रसाद ग्रहण गर्छन् । त्यसपछि प्रसाद खाने र खुवाउने क्रम सुरु हुन्छ । छठको प्रसाद छोरीचेली, मित तथा अन्य इष्टमित्र कहाँ पुर्याउने चलन रहेको छ । सूर्यदेव र षष्ठीदेवीलाई इच्छित कामना पूरा गर्ने इष्टदेव र देवीका रूपमा श्रद्धा गर्ने धार्मिक मान्यता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.