मुटुरोगीलाई कोरोना सङ्क्रमणबाट बच्‍न विज्ञको सुझाव

काठमाडौं- कोरोना सङ्क्रमणको आक्रमण दीर्घरोगीलाई बढी हुने गरेको छ । यसमध्येको मुटुरोगको समस्या भएकामा रोगको सङ्क्रमण हुने गरेको विज्ञहरुले जनाएका छन् ।

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमा बढी सङ्ख्यामा रोगप्रतिरोधी क्षमता कम भएका र दीर्घरोगी रहेका छन् । उच्च रक्तचाप, मधुमेह, मोटोपनजस्ता समस्या भएकामा मुटुरोगको उच्च जोखिम हुने गर्दछ ।

चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा सुधीर रेग्मीले मुटु रोगका समस्या भएकाहरु कोरोना सङ्क्रमणको जोखिममा रहेको बताउनुभयो । उहाँका अनुसार कोरोनाले मुटुको मासु, रगतको नलि र मुटुलाई ढाक्ने झिल्लिमा आक्रमण गर्दछ । जसबाट हृदयघातसमेत हुने गरेको उहाँको भनाइ छ ।

रगतको नलिमा रगत जमेर हुने पल्मोनरी इम्बोलिजम पनि हुने गरेको रेग्मीले बताउनुभयो । जसले गर्दा श्वाँश्वाँ हुने, बेहोस् हुने, श्वास फेर्न गाह्रो हुने गर्दछ । कोरोनाकै कारण मुटुमा अनेक समस्या देखिने गरेको उहाँले जानकारी दिनुभयो । दीर्घरोगीहरु सङ्क्रमण हुनबाट अधिकतम बच्नुपर्ने रेग्मीको सुझाव छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा राजन पाण्डेले पहिले पहिले दीर्घरोगीहरु र पाको उमेर भएकालाई मुटुको समस्या हुने गरेको भए पनि आजभोलि कम उमेरकालाई पनि यो समस्या देखिने गरेको बताउनुभयो ।

खानपान, जीवनशैलीमा परिवर्तन आएसँगै मानिसमा सानो उमेरमै मुटुको रोग देखिन थालेको पाण्डेको भनाइ छ । जुनसुकै उमेर समूहको भए पनि मुटुरोगीहरु कोरोनाको सङ्क्रमणबाट बच्नुपर्ने उहाँको सुझाव छ । सञ्चालनको तयारीमा रहेको चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीले कोरोना सङ्क्रमितमध्ये १० देखि १२ प्रतिशत मुटुरोगी भएको बताउनुभयो । सङ्क्रमितमध्ये सबैभन्दा धेरै फोक्सोका रोगी हुने गरेको बताउँदै उहाँले दोस्रोमा मुटुरोगी रहेको जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणले उमेर बढी भएका वृद्धवृद्धा, उच्च रक्तचाप भएका, मधुमेहका समस्या भएका, मिर्गाैलाका समस्या देखिएका, क्यान्सर रोगका र मोटोपना ज्यादा भएकामा समस्या हुनेहरुको उहाँको बुझाइ छ । यस्ता रोगीमा अन्यको तुलनामा ५ देखि १० गुणा बढी कोरोना सङ्क्रमणको जोखिम हुने गरेको लौडारीको भनाइ छ ।

विलासी जीवन, धूमपान, सूर्ती सेवन, उच्चरक्तचाप, मधुमेह, खानामा बोसोमाको मात्रा अत्यधिक प्रयोगले मुटुरोग निम्त्याउने गर्दछ । उहाँका अनुसार विश्वमा दुई तिहाई मुटुरोगका रोगी यिनै कारणबाट हुने गर्दछ । जीवनशैलीमा परिवर्तन गर्न सक्ने हो भने दुई तिहाई मुटुरोगबाट बच्न सकिने उहाँको तर्क छ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको सङ्ख्या वर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान गरेको छ । विश्व मुटु महासङ्घका अनुसार मुटुको रोगबाट विश्वभर वर्सेनि एक करोड ७५ लाख जनाको ज्यान जाने गरेको छ ।

यस्तै, नेपाललगायत विकासोन्मुख देशमा हृदयघात भएर मर्नेको सङ्ख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ । नेपालमा ७५ लाख मुटुरोगी रहेको अनुमान छ । यो कूल जनसङ्ख्याको २५ प्रतिशत हुन आउँछ ।

आज विश्व मुटु दिवस । ‘मन लगाउ, मुटु बचाउ’ भन्ने नाराका साथ मनाइँदै छ । विश्व हृदय महासङ्घ र विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि मनाउन थालिएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.