माओवादी सम्वद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उहाँको दल माओवादी केन्द्र सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् । माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पुनसँग आइतबार विभिन्न विभागका प्रमुखसँग छलफल भएको हो ।
मन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव र अर्थ तथा योजना विभाग प्रमुखसमेत हुनुहुन्छ । कार्यक्रममा विभागीय प्रमुखहरुले बजेटमा रोगजारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरेका छन् ।
बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक-सामाजिक रुपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उहाँहरुले सुझाव दिनुभयो ।
कार्यक्रममा अर्थमन्त्री पुनले सहभागितामुलक रुपमा बजेट निर्माण गरिने बताउनुभयो । गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने उहाँको भनाइ थियो । आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्