कृषिमा ‘हाइटेक ’ भित्र्याउदै, मनग्ये आम्दानी लिदै

खोटाङ- गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित बुवालुङका युवा किसानले उच्च प्रविधि (हाइटेक) निर्माण गरेका छन् ।

सुम्नीमा मेरुङ कृषि समूहमा आवद्ध उनीहरुले प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु १९ लाख तथा कृषि समूहको रु आठ लाख ३३ हजारको लागतमा जिआइ पाईप र यूबी प्लाष्टिक प्रयोग गरेर प्रोटेक्ट हर्टिकल्चर प्रविधि विस्तार गरेका हुन् । विस्तार गरिएको हाइटेक ५० मिटर लम्बाई र १० मिटर चौडाईको रहेको छ ।

समूहका अध्यक्ष गजेन्द्र राईले हाइटेकभित्र उच्च गुणस्तरको गोलभेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, काँक्रो, गाजर लगायतका फलफूल तथा तरकारी खेती गर्नेगरी प्रोटेक्ट हर्टिकल्चर प्रविधि भित्र्याइएको बताउनुभयो । “स्थानीय बजारमा गुणस्तरीय तथा उच्च मुल्ययुक्त तरकारीको मागलाई पुरा गर्दै बाह्य बजारमा निर्यात गर्ने लक्ष्यका साथ हाइटेक निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “हाइटेकभित्र वार्षिक न्यूनतम १४ हजार केजी तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको छ ।”

तापक्रम, हावा, पानीलाई नियन्त्रण गरी बालीनालीका लागि अनुकुल वातावरण सिर्जना गर्ने हाइटेक निर्माणका लागि सुम्नीमा मेरुङ कृषि समूहले गत असार २ गते सम्झौता गरेको जनाएको छ । कृषि पेशामा ‘पूर्णकालीन’ बनेर सामूहिकरुपमा कृषिको व्यवसायीकरणमा जुटेका दोर्पाचिउरीडाँडास्थित बुवासुङका युवाले अलैँची, आलु, अदुवा, अम्रिसो, बेसार, तिते करेला, अकबरे खुर्सानी, लसुन, जापानिज नास्पाती, किबी, एभोकार्डो, माछा, सुँगुर तथा तरकारी खेती गर्दै आएका छन् ।

विसं २०७०देखि व्यवसायिक कृषि फर्म सञ्चालन गर्दै आएका १५ जना युवा किसानले घरजग्गा छाडेर तराई बसिरहेका आफन्तको करीब २०० रोपनी जग्गा भाडामा लिएर सामूहिक खेती शुरु गरेका हुन् । निर्वाहमुखि कृषिलाई व्यवसायीकरण गर्दै कृषिलाई पनि आकर्षक पेशाकारुपमा स्थापित गर्ने लक्ष्यका साथ १५ जना स्थानीय युवाले एकैसाथ ठूलो क्षेत्रफलमा खेती लगाएका हुन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.