ताप्लेजुङमा तीन दिनमै बाढीले पाँच जनाको ज्यान गयो, २३ वटा वडा पहिरोको उच्च जोखिममा

ताप्लेजुङ- ताप्लेजुङ जिल्लामा मनसुन सुरु भएसँगै बाढीपहिरोको वितण्डा सुरु भएको छ । जेठ ३० गतेदेखी ३२ गतेसम्ममा जिल्लामा बाढी पहिरोमा परि पाँच जनाले ज्यान गुमाई सकेका छन् ।

पहिरोले पुरिएर जेठ ३० गते जिल्लाको सिरिजङ्घा गाउँपालिका वडा नं. ७ खेबाङमा निर्माणाधीन काबेली तेस्रो जलविद्युत परियोजनामा कार्यरत एक युवकको मृत्यु भएको थियो । पाँचथरको फिदिम नगरपालिका–१४ लुङपा घर भएका २५ वर्षिय सविन राईको खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा राईको घटनास्थल मै मृत्यु भएको हो ।

त्यस्तै बिहिबार राति आएको बाढी र पहिरोका कारण फक्ताङलुङ गाउँपालिका वडा नं.–२ खेजेनिमका एकै परिवारका चार जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रवि रावलका अनुसार गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बु (रविन) का बुबा वर्ष ७० रामबहादुर साम्रा लिम्बू, कान्छी आमा ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा बहिनीहरु गङ्गा र जमुनाको घर भन्दा माथिबाट आएको पहिरोले घर बगाउँदा घटनास्थल मै ज्यान गएको हो ।

वडा नं. २ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईका अनुसार पहिरोले बगाएर लिम्बूको बाख्रा फर्म बगाउँदा दर्जनौ बाख्राको मृत्यु भएको छ । खेजेनिमकै गढी डाँडा टोलका योगेन साम्रा लिम्बूको घर पनि पहिरोले क्षतिग्रस्त बनाएको वडाध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।

बिहिबार करिब १२ बजेतिर माथिदेखि आएको पहिरोले साम्राको घरलाई क्षति गरेको चौलागाईले बताउनुभयो । उहाँका अनुसार घर माथिदेखि पहिरो आएपछि साम्रासहित उहाँका परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएका छन् ।

उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार पश्चात घर पठाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रावलले जानकारी दिनुभयो ।

बुधबार रातभर परेको वर्षाका कारण फक्ताङलुङ गाउँपालिकामा अवस्थित तमोर नदीसहितका खोलामा लगाइएको ५ वटा अस्थायी काठेपुल बाढीले बगाएको थियो । बाढीले पुल बगाउँदा यातायात ठप्प भएको छ ।

वर्षाका कारण तमोर नदीको छिरुवा र तापेथोक, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध बनेको हो ।

यस्तै तापेथोकस्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा रहेको दुईवटा काठेपुल बाढीले बगाएको छ ।

पालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार बाढीले काठेपुल बगाउँदा र ठाउँ–ठाउँको सडक खण्डमा पहिरो गएका कारण बिहीबार बिहानैदेखि यातायात सेवा अवरुद्ध बनेको छ ।

त्यस्तै जिल्लाको सिरिजिङघा गाउँपालिका वडा नं. ४ खेसेवा टोलका सुरेन्द्र गुरुङ (लामिछाने)को घरमा माथीबाट आएको पहिरोले घरमा पुर्ण क्षती भएको तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोमा परि एउटा भैँसी मरेको छ भने परिवारका सदस्य र चौपायालाई स्थानीयले उद्धार गरि सुरक्षित ठाउँमा सारिएको छ । घर बस्न नमिल्ने अवस्थाको भएको छ भने गाई गोठमा पुर्ण क्षति, भान्सा घरमा पुर्ण क्षति साथै १४-१५ रोपनी मकै जग्गामा क्षति भएको छ ।

जिल्ला प्रसाशन कार्यालय ताप्लेजुङले दिएको जानकारी अुनसार जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. ३ लिवाङमा रहेको माईक्रो हाइड्रोमा समेत क्षती भएको छ । यस अघि गत असार २ गते आएको बाढी र पहिरोले जिल्लामा ३ जनाको ज्यान गएको थियो भने तीन जना बेपत्ता भएका थिए भने लाखौँको भौतिक क्षति भएको थियो ।

ताप्लेजुङमा जेठ ३० गते ३६.९ मिलिमिटर, जेठ ३१ गते १६.८ मिलिमिटर र जेठ ३२ गते २३.३ मिलिमिटर वर्षा भएको जल तथा मौसमविज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ ।

ताप्लेजुङका ४१ वडा पहिरोको उच्च जोखिममा

ताप्लेजुङ जिल्लाभित्रका ६१ वडामध्ये ४१ वटा वडाहरू पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितीले जनाएको छ । समितीले बुलेटीन निकालेर नै उच्च जोखिम, मध्यम जोखिम र न्युन जोखिम वडाहरुको संख्या प्रकाशन गरेको छ ।

जसअनुसार जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा र १८ वडा जोखिममा रहेको बताइएको छ । जिल्लाको फुङलिङ नगरपालिकाको वडा नं. १, ६, ९, ८, १० र ११ उच्च जोखिममा रहका छन् भने सिरिजङ्घा गाउँपालिकाको वडा नं. १, ५, ६, ७ र ८, सिदिङ्वा गाउँपालिकाको वडा नं. १, २, ३, ५, ६ र ७ पनि उच्च जोखिमा रहेको बताईएको छ ।

त्यस्तै पाथीभरा याङवरक गाउँपालिकाको वडा नं. १, ३, ५ र ६, फक्ताङलुङ गाउँपालिकाको ७ वटै वटा, मिक्वाखोला गाउँपालिकाको १,२, ३ र ४, मेरिङदेन गाउँपालिकाको वडा नं. १, २ र ४, मैवाखोला गाउँपालिकाको वडा नं. २, ३, र ४, आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. १, २ र ५ नम्बर वडा उच्च जोखिममा रहेको बताईएको छ ।

फुङलिङ नगरपालिकाको वडा नं. ३, ४ र ७, सिरिजङ्घा गाउँपालिकाको वडा नं. २, ३, र ४, सिदिङ्वा गाउँपालिकाको वडा नं.४, पाथीभरा याङवरक गाउँपालिकाको वडा नंं. २ र ४ पहिरोको मध्यम जोखिमा रहेको जनाईएको छ ।

त्यस्तै मिक्वाखोला गाउँपालिकाको वडा नं ५, मेरिङदेन गाउँपालिकाको वडा नं. ३, ६ र ५, मैवाखोला गाउँपालिकाको वडा नं. १, ५ र ६ साथै आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. ३ र ४ पहिरोको मध्यम जोखिममा रहेको जनाईएको छ । फुङलिङ नगरपालिकाको वडा नं. २ र ५ गरि दुई वटा वडा मात्रै पहिरोको न्युन जोखिम रहेको बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.