प्रचारको राजनीति बाहेक सरकारले केही गरेन: रमेश लेखक

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले प्रचारको राजनीति बाहेक केही नगरेको बताउनु भएको छ ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले मुलुकमा राजीतिक स्थिरता कायम गर्न संसद्का दुई ठूला दल कांग्रेस र नेकपा (एमाले)बीच सहमति भएको स्पष्ट पार्नुभएको छ ।

प्रमुख सचेतक लेखकले भन्नुभयो, “ देशमा सुशासन कायम गर्न दुई दलबीच सहमति भएको हो । विकासको लक्ष्य हासिल गर्न, अर्थतन्त्र चलायमान बनाउन तथा विकासको गति अघि बढाउन यो समीकरण भएको हो ।”

उहाँले दुई दलबीच यही असार १७ गते भएको सहमतिको कांग्रेस पदाधिकारी बैठकबाट समर्थन भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले राख्नुभएको प्रस्तावको विपक्षमा मतदान गर्ने स्पष्ट पर्नुभयो ।

उक्त सहमतिका केही ठोस आधार रहेको जानकारी गराउँदै प्रमुख सचेक लेखकले भन्नुभयो, “मुलुकलाई ठीक ढङ्गले अघि बढाउन राजीतिक स्थिरता पहिलो आधार हो ।” उहाँले प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिनु नै अस्थिरता भएको बताउनुभयो ।

नेता लेखकले संविधान भनेको निरन्तर चलायनमा हुने दस्तावेज भएको उल्लेख गर्दै संविधान कार्यान्वयन गर्ने क्रममा देखिएका कमजोरी पक्षको आवश्यकताअनुसार संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । यसमा पश्चगमन देख्नु भनेको नकारात्मक सोच भएको उहाँको टिप्पणी थियो ।

प्रमुख सचेतक लेखकले सशस्त्र आन्दोलनमा रहेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम र सङ्घीय लोकतन्त्रको शासन व्यवस्था स्थापना गर्ने काम कांग्रेसको नेतृत्वमा भएको बताउनुभयो । “यो कुरा हेक्का रहोस् । राजनीतिक अस्थिरतालाई स्थिरतामा रुपान्तरण गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो, “यसले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी व्यवस्थालाई अझ सबल बनाइने छ । संविधान छुनै नमिल्ने दस्तावेज होइन ।”

संविधानमा भएका कतिपय व्यवस्था १० वर्षमा पुनरावलोकन गर्न सकिने संविधानमै उल्लेख रहेको जानकारी गराउँदै उहाँले त्यो प्रावधान मूल्याङ्कन गरेर संविधानलाई थप बलियो बनाउन समयानुसार संशोधन आवश्यक रहेकामा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.