नेपालको आर्थिक विकास नै चीनको चाहना- राजदूत छन
काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक-सामाजिक विकासका निम्ति सक्दो सहयोग गर्न चीन तयार रहेको बताउनुभएको छ ।
चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया सोसाइटीद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपालको आर्थिक विकास चीनको चाहना भएको बताउनुभएको हो ।
राजदूत छनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजना नेपालको हितमा रहेक बताउँदै चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रोे राष्ट्रिय बैठकले निर्दिष्ट गरेका सुधार योजना नेपाललगायत छिमेकी देशका लागि महत्वपूर्ण छन् भन्नुभयो । उहाँले सुधारका योजनाबाट दुवै देशका जनता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
“यी सुधारका उपायले चीन र नेपाललाई हिमालय पारि सम्पूर्ण तवरले जोड्ने सञ्जाल निर्माणलाई चाँडो अगाडि बढाउन, कृषि, उद्योग, व्यापार, ‘डिजिटल टेक्नोलोजी’, ऊर्जा, पर्यटन क्षेत्रको क्षमता विस्तारमा उपयोगी हुनेछन् । यसबाट नेपाललाई समृद्धिका अवसर प्राप्त हुनेछ”, राजदूत छनले भन्नुभयो ।
फरक प्रसङ्गमा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँं केन्द्रीय समितिको तेस्रो बैठकले चीनको निरन्तर सुधार र खुलापनको सन्देश प्रवाह गरेको बताउनुभएको छ । उहाँले चिनियाँ कम्युनिष्ट पार्टी सुधार र खुलापनलाई दृढतापूर्वक उठाउँदै नयाँ युगको नयाँ यात्रामा लम्किरहेको स्पष्ट पार्नुभयो ।
चिनियाँ राजदूतले भन्नुभयो, “सुधार र खुलापनलाई निरन्तर प्रक्रियाका रूपमा कायम राख्ने निर्णय बैठकले गरेको छ, भविष्यका लागि अझ सुधार र विकासको योजना बनाएइका छन् ”।
यसैगरी, कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले समानता, आपसी हित र दिगो मैत्रीप्रति दृढ विश्वास भएका नेपाल र चीनबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताउनुभयो ।
चाइना मिडिया ग्रुपका एसिया-प्रशान्त निर्देशक छा ओइ छाओ इले स्वतन्त्रता, आत्मसुदृढीकरण र विकास समृद्धि हासिल गर्न नेपाल प्रयासरत रहेको आफूले पाएको उल्लेख गर्नुभयो ।
निर्देशक छा ओइले हिमालयको वारिपारि रहेका चीन र नेपालका बीच सर्वोच्च शिखर सगरमाथा रहेको र दुई देशका जनताबीचको सम्बन्ध पनि त्यति नै उच्च रहेको आफ्नो ठम्मयाइ सुनाउनुभयो ।
साइनो नेपाल मिडिया सोसाइटी सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले नेपाल र चीनबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।।
प्रतिक्रिया राख्नुहोस्