आज भाद्र कृष्ण पञ्चमी: कोलमती घाटस्नान गरिँदै

काठमाडौँ-प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन गरिने कोलमती घाट स्नान आज गरिँदैछ ।
यस दिन कागेश्वरी नगरपालिका–४ अन्तर्गत डाँछीमा कोलमती घाटस्नान गरे पाप पखालिएर पुण्य प्राप्त हुने स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड (नेपाल माहात्म्य) लगायत पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।
वाग्मती नदीको तीर वर्णनका क्रममा नेपाल माहात्म्यको १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरेबराबरको फल मिल्ने वर्णन धार्मिक ग्रन्थमा गरिएको छ ।
कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ ।
कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ ।
कोलमती र वाग्मती मिसिने स्थानमा चैलमती मिसिएर त्रिवेणीघाट बनेकाले यस स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको वर्णन ती ग्रन्थमा पाइन्छ ।
चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ ।
यहाँ ब्रह्माले वामन रूपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रूपमा पूजाआराधना गरिन्छ ।
कोलमती घाटभन्दा केही माथि कोलमतेश्वर महादेव मन्दिर रहेको छ ।
हाल यहाँ नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर पनि निर्माण गरिएको छ । रुरु पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यको सक्रियतामा यहाँ लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण गरेपछि आन्तरिक एवं बाह्य धार्मिक पर्यटकको भीड लाग्न थालेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.