वर्षाले १६ स्थानमा चेतावनीको तह पार गर्यो

काठमाडौं – बुधवारदेखिको निरन्तरको वर्षाका कारण वर्षा मापन केन्द्र रहेका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।
यो समाचार तयार पार्दासम्म चेतावनीको तह पार भएका वर्षा मापन केन्द्रहरुमध्ये धेरैजसो कोशी प्रदेशका रहेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको मापन भएको छ ।
मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा मापन गरिएको छ । सप्तरीका बरमझिया र रुपनी बजार तथा मोरङको सुन्दरहरैँचा, बाहुनी, विराटनगर विमानस्थलमा वर्षाले चेतावनीको तह पार गरेर खतराको तहसम्म पुगेको छ।
यसैगरी झापाका शनिश्चरे, अनारमनी, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा, बाहुनडाँगीमा पनि वर्षा खतराको तहसम्म पुगेको छ । २४ घण्टाको अवधिमा झापाको चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २ सय ३२ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ ।
झापापछि सबैभन्दा धेरै इलामको माईचुलीमा २ सय ३१ मिलिमिटर वर्षा भएको छ । उदयपुरको सुन्दरपुर र पाल्पाको अर्चलेमा पनि अत्यधिक वर्षाले खतराको संकेत गरेको छ ।।






प्रतिक्रिया राख्नुहोस्