भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न सके दोब्बर पर्यटक नेपाल भित्रिन्छन् : अध्यक्ष शाह

काठमाडौं – नेपाल होटेल सङ्घ (हान) का अध्यक्ष विनायक शाहले नेपालका लागि दिगो रूपमा विदेशी मुद्रा आर्जनको मुख्य श्रोत पर्यटन क्षेत्र रहेको बताउनुभएको छ ।

पर्यटन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन होटेल सङ्घ लगायत सम्बन्धित सङ्घ संस्थाहरू टुगेदर फर टुरिजमको नाराका साथ अघि बढिरहेको बताउनु भयो । उहाँले सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्न आफूहरू तयार रहेको बताउनु भयो । उहाँले सबै मिले मात्र देश बनाउन सकिने भन्दै एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले नयाँ विमानस्थलहरू भैरहवा र पोखरालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके मुलुकमा पर्यटन आगमन आजको अवस्था भन्दा दोब्बर हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दिगो रूपमा विदेशी मुद्रा आर्जनको मुख्य श्रोत पनि पर्यटन नै हो । राज्यले घोषणा गरेको पर्यटन दशकलाई सार्थक बनाउन, राज्यले अवलम्बन गरेका नीति र कार्यक्रमहरूमा होटेल सङ्घ लगायत हामी सबै पर्यटन व्यवसायमा लाग्नेहरू टुगेदर फर टुरिजमको नाराका साथ सम्बन्धित संघसंस्था सबैले काँधमा काँध मिलाएर सहकार्य गरी यो देशको उन्नति र प्रगतिको लागि अघि बढेका छौँ । नयाँ विमानस्थलहरू भैरहवा र पोखरालाई पनि पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके मुलुकमा पर्यटन आगमन आजको अवस्था भन्दा दोब्बर हुन सक्छन् ।’

अध्यक्ष शाहले तर्जुमाको क्रममा रहेको पर्यटन नीति, पर्यटन ऐन समग्र पर्यटन विकास, विस्तार र सुदृढीकरण जोड दिने गरी बन्नेमा आशावादी रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.