कुलेखानीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह
प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू हाइ एलर्टमा बस्न निर्देशन
काठमाडौँ- कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवर तालको बाँध भरिन लागेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ ।
कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत विचार गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डा. डिजन भट्टराईले उच्च सतर्कताका लागि अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो आग्रह गर्नु भएको छ ।
निरन्तरको बर्षाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत केन्द्रको बाँधमा पानीको सतह बढ्न गएको र केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ढोकाहरु खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका रौतहट र सर्लाही जिल्लासमेतका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको छ ।तसर्थ, कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्नुहुन अनुरोध गरिन्छ । साथै, सम्बन्धित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनरुप सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन समेत अनुरोध छ । सूचनामा भनिएको छ ।
प्रतिक्रिया राख्नुहोस्