वट्टारमा सुपथ मूल्य पसल सञ्चालन

 

नुवाकोट-  उपभोक्ताहरूको सुविधाका लागि नुवाकोटको बट्टारमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।  विदुर नपा ४ वट्टार हावा घरमा सोमवार सुपथ मूल्य पसल स्थापना गरिएको छ ।

मुख्य चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन गरिएको हो । चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको हो ।

नुवाकोट उद्योग वाणिज्यको सहकार्यमा साल्ट  ट्रेनिङ कर्पोरेशनले सञ्चालन गरेको सुपथ मूल्य पसलको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले उद्घाटन गर्नुभयो । मुख्य चाडपर्व बडादसैँ र तिहारका उपभोक्ताहरूलाई लक्षित गर्दै बाघबच्छला किराना स्टोरमा सुपथ मूल्य पसलमा प्रचलित मूल्यभन्दा दुईदेखि एक सय ४० रुपैयाँसम्म छुट दिइएको छ ।

बजार मूल्यभन्दा दाल, मैदा र खाने तेलमा सात रुपैयाँ, चिउरामा सातदेखि १४० रुपैयाँ सहुलियत दिएको छ । यस्तै, आटामा १४ देखि ३५ रुपैयाँ, चना र चिनी प्रति किलोग्राममा तीन रुपैँया सहुलियत मूल्यमा पाइने नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ २४ गते नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको थियो ।

सुपथ मूल्य पसलमा चामल, नुन र चिनी, मैदा, चिउरा र तेल लगायतका २० खाद्यान्नहरू राखिएको छ । चाडपर्व लक्षित गर्दै साल्ट ट्रेडिङले सहुलियत पसल सुरु गरेपछि स्थानीय उपभोक्ता खुसी भएका छन् ।

सङ्घीय सरकारको निर्णयअनुसार सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो । सुपथ मूल्य पसलको उद्घाटन गर्दै प्रजिअ रामकृष्ण अधिकारीले अत्यावश्यक वस्तुहरूमा केही सहुलियत दिएर सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताउनुभयो ।

उहाँले चाडपर्वका बेला अत्यावश्यक वस्तुको सहज उपलब्धता र सहुलियत दिने सरकारको महत्त्वपूर्ण काम भएको बताउनुभयो । सुपथ मूल्य पसलमा सामान खरिद गर्दा २ रुपैयाँदेखि एक सय ४० रुपैयाँसम्म छुट पाइने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.